एसीसी यू–१६ इस्ट जोन कप : मलेसियालाई २२१ रनको फराकिलो अन्तरले नेपालले जित्यो उपाधि

काठमाडौं, असार १९ गते । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिनुभएको थियो । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गर्नुभयो । उहाँले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाउनुभयो ।

नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाउनुभयो । नेपालले २६ रन अतिरिक्त पायो ।

मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक÷एक विकेट लिनुभयो ।