वर्षाले पाकेर थन्क्याउन लागिएको धानबालीमा ठूलो क्षति, कृषक चिन्तित

खोटाङ, — अविरल वर्षाले खोटाङका कृषकको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तीन दिनदेखि लगातार परेको वर्षाले पाकेर थन्क्याउन लागिएको धानबाली ढलेर सोतर भएपछि किसानहरू चिन्तित भएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले ३५ रोपनी खेतमा लगाएको धान वर्षाले नष्ट भएपछि भोकमरीको डर भएको बताए । “पाक्न लागेको अवस्थामा सबै धान ढलेर सोतर भएको छ,” उनले भने, “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान नष्ट भएपछि भोकमरी हुने निश्चित छ, सरकारले राहत दिनुपर्छ।”

कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीका अनुसार अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा धानबालीमा क्षति गरेको छ । “यस वर्ष समयमै रोपाइँ भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो, तर पछिल्ला दिनको वर्षाले ठूलो क्षति गरेको छ,” उनले बताए, “क्षतिको विवरण संकलनको काम भइरहेको छ।”

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा नौँ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर, पाकेर थन्क्याउन लागेको बेला परेको वर्षाले ठूलो क्षति गरेपछि उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको किसानहरूले बताएका छन् ।

अधिकांश किसानले पाकेर पहेँलपुर भएको धान काटेर खेतमै सुकाइरहेका थिए । लगातारको वर्षाले खेतको आँठामा सुकाइएको धान डुबानमा परेपछि झन् ठूलो क्षति भएको उनीहरूको गुनासो छ ।

वर्षाले धानमा नोक्सान गरे पनि गहुँ, तरकारी, फलफूलजस्ता हिउँदेबालीलाई भने केही राहत पुगेको बताइएको छ । तथापि, धान जिल्लाको प्रमुख अन्नबाली भएकाले यसपालि उत्पादन घटेपछि खाध्य संकटको सम्भावना बढेको किसानहरूको चिन्ता बढेको छ ।