गुल्मी, — हालैको बेमौसमी वर्षाले गुल्मी जिल्लामा ठूलो कृषि क्षति पु¥याएको छ । जिल्लामा करिब पाँच करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जसबाट २२ हजार ९०९ मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको थियो । तर निरन्तर वर्षाले करिब एक हजार २६० मेट्रिक टन धान नष्ट भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यका आधारमा उक्त क्षतिको मूल्य करिब पाँच करोड रुपैयाँ बराबर पर्छ ।
सबैभन्दा धेरै क्षति जिल्लाको मुख्य धान उत्पादन क्षेत्र चौरासी फाँटमा भएको हो। त्यहाँ ९९९ हेक्टरमा लगाइएको धानमध्ये करिब ४० प्रतिशत धान नष्ट भएको केन्द्रले जनाएको छ ।
इस्मा गाउँपालिका–६ का किसान कृष्णप्रसाद घिमिरेले काटिसकेको १८ रोपनी खेतको धान पानीमा डुबेर नोक्सान भएको बताए । त्यस्तै, अर्का किसान निराजन भण्डारीको १९ रोपनी खेतमा काटिसकेको धान भिजेपछि बाली सड्ने अवस्थामा पुगेको छ ।
स्थानीयवासीका अनुसार यस वर्षको अनियमित र बेमौसमी वर्षाले जिल्लाका किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन् ।


