मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने तीनवटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । भारत र चीन जोड्ने प्रमुख व्यापारिक मार्गका रूपमा रहेको यस आयोजनाले २०७३÷७४ सालदेखि पुल तथा सडक संरचना निर्माणको काम अघि बढाउँदै आएको हो ।
आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षसम्म १३ वटा पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण गरिसकिएको छ । यद्यपि, निर्माणाधीन अवस्थामा रहेका केही पुलमा निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्का कारण समस्या देखिएपछि आयोजनाले म्याग्दी र मुस्ताङका तीन स्थानका पुलको ठेक्का सम्झौता तोडेको छ ।
इन्जिनियर विष्णु चापागाईँका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता रद्द गरिएको हो ।
म्याग्दी र मुस्ताङ खण्डमा पुल सम्पन्न
कालीगण्डकी करिडोरअन्तर्गत पर्ने म्याग्दी खण्डमा राहुघाट पुल र घट्टेखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ । त्यस्तै, मुस्ताङ खण्डतर्फ थासाङ–३ को लेतेखोला र सेतोखोला पुल, थासाङ–२ को छाक्ताङ खोला, घरपझोङ–२ को मार्फाखोला, घरपझोङ–३ को स्याङखोला, पान्डाखोला, वारागुङ–३ को छुसाङ नरसिंह खोला तथा लोघेकर–१ को चराङखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।
त्यसैगरी, माथिल्लो मुस्ताङ क्षेत्रमा पर्ने लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल पनि निर्माण पूरा भई आयोजनालाई हस्तान्तरण गरिएको जनाएको छ । यीनमध्ये ६ वटा पुल गत आर्थिक वर्ष २०८१÷८२ मा मात्र सम्पन्न भएका हुन् ।
तीन पुल ८० प्रतिशतभन्दा बढी सम्पन्न
हाल आयोजनाअन्तर्गत थासाङ–४ कैकुखोला, थासाङ–२ लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ घमीखोला पुल निर्माणको अन्तिम चरणमा छन् । ती पुलहरूको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भइसकेको र चालु आर्थिक वर्षभित्र हस्तान्तरण गरिने इन्जिनियर चापागाईँले जानकारी दिए ।
उहाँका अनुसार यी पुलको फाउन्डेसन तथा स्ल्याब ढलान सम्पन्न भइसकेको छ भने एप्रोच सडक र फिनिसिङका कामहरू बाँकी रहेका छन् ।
६ बेलिब्रिजसहित १९ पुल निर्माण
आयोजनाले हालसम्म पक्की पुल र अस्थायी बेलिब्रिज गरी कुल १९ वटा पुल निर्माण गरिसकेको जनाएको छ । बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला तथा पहिल्यै निर्माण भएका थासाङ–२ घट्टेखोला र थासाङ–१ टुकुचे (थापाखोला) मा बेलिब्रिज स्थापना गरिएको छ ।
अन्य निकायबाट पनि आठ पुल सम्पन्न
आयोजनाबाहेक अन्य निकायमार्फत पनि पर्वतको मालढुङ्गादेखि मुस्ताङसम्म ८ वटा पक्की पुल निर्माण भइसकेका छन् । पुल सेक्टर कार्यालय पोखरा लगायत अन्य कार्यालयबाट कार्यान्वयन भएका ती पुलहरूमा पर्वतका दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला तथा म्याग्दीका कालीगण्डकी खोला, बेगखोला, तिप्ल्याङ खोला, पोखरे बगर खोला र जोमसोमस्थित कालीगण्डकी खोला पुल पर्दछन् ।
जोमसोमस्थित उक्त पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
उत्तर–दक्षिण जोड्ने यो रणनीतिक सडक र पुल निर्माणले भोलिका दिनमा व्यापारिक आवागमन, पर्यटन प्रवद्र्धन र दुर्गम बस्तीको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।



