![](https://www.palikanews.com/wp-content/uploads/2023/04/melamchi-1.jpg)
काठमाडौँ, वैशाख १३ गते । विपद्जन्य घटनाहरूबाट बर्सेनि ठूलो मात्रामा जनधनको क्षति र विकासका पूर्वाधारहरूमा हुने नोक्सानी रोक्न तीनै तहका संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङपालकोटमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण स्थानीय अनुकूलन’सम्बन्धी एकदिने राष्ट्रिय कार्यशालामा सहभागीहरुले हरेक योजना बनाउँदा विपद्लाई पनि जोड्न स्थानीय तहलाई आग्रह गरेका थिए ।
गोरखा भूकम्पको आठ वर्ष पुगेको दिन आज आर्सो नेपाल, टिजिएच, एफडिएफ, एएफडी, सिटी अफ पेरिस तथा उक्त गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि भएका नीतिगत कानुनी र संस्थागत व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न जोड दिनुभयो ।
हरेक तहका सरकारले आ–आफ्नो स्थानबाट राम्रो प्रयास गरे पनि तीनै तहका सरकारबीचको समन्वयात्मक एकीकृत प्रतिकार्यलाई अझै प्रभावकारी बनाउन सकिने राष्ट्रिय विपद् जोखिम व्यस्थापन सञ्जालका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । विपद् बाह्रै महिना राज्यको प्राथमिकताको विषय बन्नुपर्नेमा उहाँको जोड थियो ।
विपद् जोखिमलाई विकासको अभिन्न अङ्गका रूपमा तीनै तहका सरकारले आत्मसात् गरी अघि बढ्नु आवश्यक भएको गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो । उहाँले भूकम्पपछि आर्सो नेपाल तथा सहयोगी विदेशी संस्थाले पालिकामा गरेका कामबारे प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो । उपाध्यक्ष अधिकारीले पालिकाले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि स्रोतले भ्याएसम्म बजेट विनियोजन गरेर काम गरिरहेको छ भन्नुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखाका जयराम उप्रेतीले नेपाल भूकम्प, बाढी, डुबान र पहिराको निकै जोखिममा रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको नीति तथा ऐनमा उल्लेखित विषयमा जानकारी गराउनुभयो ।
विपद् व्यवस्थापनमा स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा आर्सो नेपालका कार्यकारी निर्देशक जितराम तामाङले जोड दिनुभयो । यस्ता कार्यक्रम गाउँमा नै आयोजना गर्दा अझ प्रभावकारी हुने र स्थानीयवासीको आवाज समेट्न सजिलो हुने भएकाले कार्यशाला ग्रामीण भेगमै आयोजना गरिएको सोही संस्थाका परियोजना संयोजक हर्क तामाङले उल्लेख गर्नुभयो ।
थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रमको समापन
आर्सो नेपालद्वारा सञ्चालित थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम समापन गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ मा सोमबार भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले २०७२ साल वैशाख १२को भूकम्पपश्चात् थाङपाल क्षेत्रमा प्रवेश गरेको यो संस्थाले पुनर्निर्माण, जीविकोपार्जन, खानेपानी, वन, वातावरण तथा सरसफाइका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै अबका दिनमा पनि सहयोगका लागि अपेक्षा गर्नुभयो ।