दशकौँ पुराना अपराधमा पनि दोषी उम्कन पाउँदैनन् : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले दशकौँ पुराना अपराधमा संलग्न व्यक्तिलाई समेत जुनसुकै बेला कानुनी दायरामा ल्याइने बताएका छन् ।

महानिरीक्षक कार्कीले व्यक्तिगत स्मरण समयसँगै हराउन सक्ने भए पनि प्रहरी सङ्गठनले अपराधका घटनालाई नबिर्सने बताए ।

“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,”उनले भने ।

पुराना अपराधका घटनामा चाहेजस्तो सफलता प्राप्त हुन नसकेको स्वीकार गर्दै उनले पुराना चर्चित तथा जघन्य प्रकृतिका अपराधको अध्ययन र निरन्तर अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार पुराना चर्चित घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरिएको छ। त्यस्ता टोलीको अनुसन्धानबाट केही घटनामा महत्वपूर्ण सफलता हासिल भएको उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत पुराना जघन्य अपराधको अनुसन्धानसमेत जारी रहेको जानकारी दिए । “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,” उनले भने ।

प्रविधिजन्य अपराध बढेपछि विशिष्टीकृत इकाइ

बदलिँदो समाज, प्रविधि र अपराधको शैलीका कारण सुरक्षा चुनौती थपिँदै गएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक अपराध नियन्त्रण गर्न नसकिने बताए ।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको भन्दै उहाँले त्यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति भर्ना तथा परिचालन गर्नुपर्ने अवस्था रहेको बताए । यसका लागि विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको उनले जानकारी दिए ।

प्रहरी कर्मचारीको कार्यसम्पादन सुधारका लागि पछिल्लो समय कार्यसम्पादन सूचकसमेत तयार गरिएको उनले बताए ।

“प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ,” उनले भने ,“यो पूर्वानुमानयोग्य छ। कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ।”

घरबाटै प्रहरी सेवा लिन सकिने

महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताउँदै नागरिकले प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने गरी सेवा प्रणाली विकास गरिएको जानकारी दिए ।

उनका अनुसार नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। ‘नेपाल पुलिस एप’मार्फत विभिन्न प्रहरी सेवा लिन सकिने उनले बताए ।

उनीहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ,”उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिनेछ।”

अन्तर्राष्ट्रिय प्रहरीसँग समन्वय

अपराधको विश्वव्यापी सञ्जाल नियन्त्रणका लागि नेपाल प्रहरीले विभिन्न देशका प्रहरी सङ्गठन तथा इन्टरपोलमार्फत अन्य मुलुकका विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय गरिरहेको महानिरीक्षक कार्कीले बताए ।

“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ,” उनले भने ।

प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरी सक्षम हुने विश्वाससमेत उनले व्यक्त गरे ।

नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले शान्ति, सुव्यवस्था र अमनचयन कायम गरी नागरिकको जीउधनको रक्षा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

“प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ,” उनले भने, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु।”