काठमाडौं – सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ।
सरकारले यसअघि २०८२ साउन २६ गते नै दस्तुर दर निर्धारण गरेको थियो । उक्त दरलाई राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै मिनीबस तथा मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
बस तथा सिंगल रियर एक्सल ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरणका लागि सुरुङभित्र प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
सरकारले सुरुङ मार्ग सञ्चालनसँगै सवारी आवागमन व्यवस्थित बनाउन र पूर्वाधार सञ्चालन खर्च व्यवस्थापन गर्न यस्तो दस्तुर दर निर्धारण गरेको जनाएको छ।



