पर्सा – वीरगञ्ज महानगरपालिकाले रेल्वे सडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूलको थोक बजार सञ्चालनमा ल्याएको छ । लामो समयदेखि वीरगञ्जमा व्यवस्थित थोक बजारको अभाव महसुस हुँदै आएको अवस्थामा नयाँ बजार सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने विश्वास लिइएको छ ।
विरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले यस बजारलाई छपकैयाँ क्षेत्रका बासिन्दाकै नाममा तयार गरिएको बताए । बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । ‘‘यो बजार छपकैयाँवासीकै सम्पत्ति र धरोहर हो । सबैको सहकार्यले यसलाई दीर्घकालीन रूपमा व्यवस्थित र सफल बनाउन सकिन्छ,’’ उनले भने, डेढ वर्षअघि नै बजार सञ्चालन गर्ने तयारी भए पनि विभिन्न कारणले केही ढिलाइ भएको समेत उनले उल्लेख गरे ।
प्रमुख सिंहका अनुसार बिपी उद्यानमा रहेका केही व्यवसायीका कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन ढिलाइ भएको हो। अब बिपी उद्यान क्षेत्रमा रहेको अव्यवस्थित बजार हटाउने अभियान सुरु गरिने तथा त्यहाँका व्यवसायीलाई छपकैयाँ बजारमा स्थानान्तरण गर्न विकल्प प्रदान गरिएको उनले बताए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएका १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, खानेपानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्था जस्ता आधारभूत पूर्वाधारको व्यवस्था गरिएको छ।
महानगरले दोस्रो चरणमा थप ७० लाख रुपैयाँ लगानी गरी युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजना बनाएको जनाएको छ। खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनामार्फत सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजना बनाएर व्यापार गर्न सहज हुने जनाइएको छ ।
छपकैयाँमा सञ्चालनमा आएको यो तरकारी तथा फलफूलको थोक बजारले वीरगञ्जको व्यापारिक गतिविधि थप व्यवस्थित बनाउन र स्थानीय आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।



