गुल्मी – गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि आंशिक रूपमा अवरुद्ध हुने भएको छ । सत्यवती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु गरिएकाले केही समय सवारी आवागमन बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने संवेदनशील र साँघुरो सिस्ने भिर क्षेत्रमा सडक चौडा गर्न कटिङ्ग गर्नुपर्ने भएकाले माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सडक आंशिक रूपमा अवरुद्ध रहनेछ। यसका लागि कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीसँग समन्वयको अनुरोध गरेको छ ।
उक्त अवधिमा दैनिक बिहान ६ देखि ९ बजे, बिहान १० देखि दिउँसो २ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ । त्यसैगरी बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसो सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे सडक प्रयोग गर्न सकिनेछ भने साँझदेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको छ। साथै स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरिएको छ ।



