उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी — सरकारले सोमबार उखुको मूल्य तथा अनुदान दर तोकेपछि महोत्तरीका उखु किसानले प्रस्तावित मूल्य पूर्णरूपमा आफ्नो मागअनुसार नपरे पनि गत वर्षभन्दा केही बढेको भन्दै चित्त बुझाएका छन् ।

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार किसानको मुख्य माग प्रतिक्विन्टल रु ७५० भए पनि यस वर्ष सरकारले चिनी उद्योगले दिने रु ६२० र सरकारको रु ७० अनुदानसहित प्रतिक्विन्टल रु ६९० तोकेको छ। “गत वर्षभन्दा प्रतिक्विन्टल रु ७० ले मूल्य बढेको छ, हामीले चाहेजति नपाए पनि गत वर्षको तुलना राम्रो छ,” उनले बताए ।

खुट्टी उखु काट्ने हतारो, उद्योग खोलिन प्रतीक्षा

यस समय किसानलाई मूल्य विवादभन्दा पनि खुट्टी उखु चाँडै काटेर अन्य बाली रोप्ने दबाब बढी छ ।

भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “मूल्य कम तोक्यो भनेर निहुँ खोज्ने समय छैन। खुट्टी उखु काट्न ढिलाइ भयो भने खेतबारी छ महिनासम्म बाँझिन सक्छ।”

उखु खेतीमा पहिलो वर्ष ‘मुडन’ र दोस्रो वर्ष ‘खुट्टी’ काटिन्छ। किसानका अनुसार पुस तेस्रो साताभित्र खुट्टी उखु काटेर अर्को बाली लगाइसक्नुपर्ने बाध्यता छ। ढिलाइ भए असारसम्म पर्खनुपर्छ, जसले खेत रुखिने तथा उत्पादन चक्र अवरुद्ध हुने उनीहरूको भनाइ छ।

मूल्य निर्धारण ढिलो हुने सरकारी बानीप्रति गुनासो

उखु किसान तथा विभिन्न किसान सङ्घहरूले प्रत्येक वर्ष कात्तिक मसान्तभित्र मूल्य निर्धारण र मंसिर दोस्रो साताभित्र खुट्टी उखुको क्रसिङ सुरू गर्न माग गर्दै आएका छन्।

“सरकारले सधैं किसान बाध्य हुने बेला पारेर मूल्य तोक्छ,” बर्दिवास–१२ का किसान विश्वनाथ सिंह भन्छन्।

गत वर्ष प्रतिक्विन्टल रु ५८५ र रु ३५ अनुदान दिइएको थियो। यसपालि दुवै दरमा वृद्धि भएको किसान सङ्घको मूल्याङ्कन छ।

एभरेष्ट सुगर उद्योग अझै सञ्चालनमा नआउँदा किसान तनावमा

गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीजले भने अझै क्रसिङ शुरू गरिसकेको छैन। उद्योगले मूल्य निर्धारण टुङ्गिएसँगै चाँडै ‘डोला पूजा’ सम्पन्न गरी पुस पहिलो साता क्रसिङ सुरू गर्ने तयारी भइरहेको जनाएको छ।
गत वर्ष उद्योगले मंसिर २६ गतेदेखि नै क्रसिङ सञ्चालन गरेको थियो ।

जिल्लामा उखु खेती ९ हजार ६०० बिघामा

महोत्तरीमा यसपालि ९,६०० बिघा क्षेत्रमा उखु खेती गरिएको छ।
जसमध्ये ५,००० बिघामा खुट्टी र ४,६०० बिघामा मुडन उखु रहेको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष कुशवाहाले जानकारी दिए ।

उद्योग सञ्चालन ढिलो हुँदा उखु काट्ने र अर्को बाली लगाउने चक्र प्रभावित बन्ने भएकाले किसान चाँडो क्रसिङ सुरू हुने अपेक्षामा छन् ।