काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रलाई आधार मानेर सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।
शहीद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र, नागरिक अधिकार र समावेशिताको उपलब्धि शहीदकै देन भएको उल्लेख गरिन् ।

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूको बलिदानको जगमा टेकेर आज देशले शासन व्यवस्था, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् । उनले विश्वका शासन व्यवस्थामध्ये उत्कृष्ट मानिने लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको स्पष्ट पारिन् ।
उनका अनुसार जहाँनिया राणा शासन अन्त्य गर्दै जनताको स्वतन्त्रता र स्वाधीनताका लागि शहीदहरूले दिएको बलिदानले नै आजको व्यवस्था स्थापित भएको हो ।
‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौं । अर्थात विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं,’ उनले भनिन् ।
नागरिक अधिकार र समावेशितामा शहीदको योगदान
कार्यवाहक प्रमुख डंगोलले आज नागरिक अधिकार, समावेशिता र समावेशीकरणको अभ्यास सम्भव हुनु पनि शहीदहरूको त्याग र बलिदानकै परिणाम भएको बताइन् । उनले शहीदहरूले नेपाल र नेपालीका लागि दिएको योगदानलाई “सुन्दर उपहार”का रूपमा स्मरण गरिन् ।
‘आज हामी जहाँ छौं, जुन अवस्था र व्यवस्थामा छौं, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौं । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो,’ उनले भनिन् ।
उनका अनुसार शहीद दिवस केवल श्रद्धाञ्जली दिने दिन मात्र नभई त्याग, समर्पण र प्रेरणाको स्मरण गर्ने अवसर पनि हो । उनले राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले शहीदहरूको आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिइन् ।
‘यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो । यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ,’ डंगोलले भनिन् ।
कार्यवाहक प्रमुख डंगोलले शहीदहरूको सपना र मार्गचित्रअनुसार समन्वय र सहकार्यका माध्यमबाट महानगर तथा समग्र देशको विकासलाई अघि बढाउनुपर्ने बताउँदै कार्यक्रम समापन गरिन् ।ा



