बगैँचाबाटै सुन्तला बिक्री, किसान खुसी

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका किसान गेशबहादुर रानाले यसपटक आफ्ना सुन्तला बोटबाटै सहज रूपमा बिक्री हुँदा खुशी लागेको बताएका छन् । अघिल्ला वर्षमा बजार खोज्दै धाउनुपर्ने र मूल्य पनि कम पर्ने गरेका थिए भने अहिले स्थानीय व्यापारीले बगैँचामा आएर प्रतिकिलो रु ६०–६५ मा सुन्तला खरिद गरेपछि किसान उत्साहित बनेका छन् ।

रानाका अनुसार, “एकातर्फ सहज रुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ मूल्यसमेत बढेको छ, जसले किसानलाई उत्साहित बनाएको छ ।” गत वर्ष यहाँ प्रतिकिलो रु ५०–५५ मा सुन्तला बिक्री भएको थियो ।

बुलिङ्टार–५, राइकोटका किसान कृष्ण सारुका अनुसार, “करिब एक हजार सुन्तलाका बोट छन् र टिपिएका फल गाउँबाटै बिक्री हुँदा प्रक्रिया सहज भएको छ ।” मौसम राम्रो भएकाले यसपटक फलको दाना र गुणस्तर दुवै राम्रो रहेको उनले बताएका छन् ।

नवलपुरको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउराली लगायतका स्थानमा सुन्तला उत्पादन हुने गर्दछ । किसानले टिपेका फल स्थानीय बजारमा बिक्री गर्दै आएका छन् भने कतिपय व्यापारीले फोन गरेर माग गरेपछि पठाइदिने गरेका छन् ।

स्थानीय बजारसँगै चितवनको नारायणगढबाट पनि सुन्तलाको माग भइरहेको छ । रानाका अनुसार, “व्यापारीले मूल्य तय गरी माग अनुसार पठाउँछन्, त्यसैले किसानलाई बजार व्यवस्थापनमा चिन्ता कम छ ।”

नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुन्तला जातको फलफूल जोन कार्यक्रम सञ्चालन भएपछि यहाँ व्यावसायिक रूपमा उत्पादन बढ्दै गएको छ । सूचना अधिकारी रणबहादुर महतोका अनुसार जिल्लामा १८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूल खेती भइरहेको छ ।

गत आर्थिक वर्षमा नवलपुरमा एक हजार ४०० टन सुन्तला उत्पादन भएको थियो भने कागतीको उत्पादन १८ टन थियो । किसानहरूले सुन्तला बिक्रीबाट करिब रु ८.९ करोड र कागती बिक्रीबाट रु १७ लाख ८६ हजार आम्दानी गरेको महतोले जानकारी दिनुभएको छ ।