काठमाडौं – नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदैछ ।
विसं २०४६ चैत २६ गते ३० वर्षदेखि कायम रहेको पञ्चायती शासन व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना भएको थियो। यही दिनको स्मरणमा प्रत्येक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाइन्छ ।
नेपालमा पञ्चायती व्यवस्था विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र ले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै सुरु गरेका थिए । त्यसपछि करिब तीन दशकसम्म दलविहीन पञ्चायती शासन व्यवस्था सञ्चालन भयो ।
पञ्चायती व्यवस्थाविरुद्ध देशव्यापी आन्दोलन सुरु भएपछि नेपाली कांग्रेस र वामपन्थी शक्तिहरू एकजुट भई संयुक्त जनआन्दोलन थालेका थिए । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको सहकार्यमा सुरु भएको आन्दोलन २०४६ फागुन ७ गतेदेखि देशभर फैलिएको थियो ।
करिब ५० दिनसम्म चलेको आन्दोलनको नेतृत्व कांग्रेस नेता गणेशमान सिंह ले गरेका थिए। आन्दोलनका क्रममा देशभर प्रदर्शन, हड्ताल र जनदबाब बढ्दै गएपछि अन्ततः २०४६ चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।
यससँगै पञ्चायती शासन व्यवस्थाको अन्त्य भई नेपालमा संवैधानिक राजतन्त्रसहित बहुदलीय संसदीय प्रणाली पुनःस्थापित भएको थियो । त्यसपछि २०४७ सालमा नयाँ संविधान जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गरिएको थियो ।
जनआन्दोलन २०४६ लाई नेपालको लोकतान्त्रिक इतिहासको महत्वपूर्ण मोडको रूपमा लिने गरिन्छ। यस आन्दोलनले नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र बहुदलीय प्रणालीको मार्ग प्रशस्त गरेको मानिन्छ ।



