काठमाडौँ महानगरका ३९ विद्यालयले परिवर्तन गरे नाम, नेपालीपन झल्किने नामकरणमा जोड

काठमाडौं – यस वर्ष काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । महानगरपालिकाले गत वर्षदेखि नै विद्यालयलाई नेपाली पहिचान झल्किने नाम राख्न आग्रह गरेअनुसार विद्यालयहरूले नाम परिवर्तन गरेको कामपा शिक्षा विभागले जनाएको छ ।

कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हाल काठमाडौँ महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय ४, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८ र संस्थागत विद्यालय ४२५ गरी जम्मा ७८४ वटा शैक्षिक संस्था सञ्चालनमा छन् ।

महानगरपालिकाले चालु शैक्षिक सत्र २०८१ मा आफ्ना मातहतका विद्यालयमा अध्ययनरत ३० हजार ७७९ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरेको जनाएको छ । छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८९५, दलित छात्रवृत्तिमा १ हजार ३२२ तथा अपाङ्गता र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन् ।

त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा ३ हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेको शिक्षा विभागले जनाएको छ ।

शिक्षा क्षेत्रमा यस आर्थिक वर्षका लागि रु ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार बजेट विनियोजन गरिएकोमा ५३.८ प्रतिशत अर्थात् रु १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार खर्च भएको छ । आन्तरिक नियमित कार्यक्रमतर्फ रु १ अर्ब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकामा ३० प्रतिशत अर्थात् रु ३१ करोड ५६ लाख ५ हजार खर्च भएको छ ।

‘गरीखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि विनियोजित रु ६० करोडमध्ये रु ५ करोड १ लाख ६६ हजार अर्थात् ८.४ प्रतिशत खर्च भएको छ । यस्तै, शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि विनियोजित रु ११ करोड १४ लाखमध्ये रु ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ ।

सङ्घीय सशर्त अनुदानतर्फ प्राप्त रु १ अर्ब ४२ करोड ३४ लाख ५० हजारमध्ये ९२.९ प्रतिशत अर्थात् रु १ अर्ब ३२ करोड २२ लाख खर्च भइसकेको कामपाले जनाएको छ ।