पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

म्याग्दी – धवलागिरि गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याउँदै भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ। हालसम्म साबिकको मुना गाविसको भवनमा सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब आधुनिक प्रशासकीय भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

धवलागिरि–३ घट्टेखोलामा स्थानीयवासीबाट निःशुल्क प्राप्त १४ रोपनी जग्गामा सङ्घीय सरकारसँगको साझेदारीमा निर्माण सुरु गरिएको प्रशासकीय भवनको काम करिब ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको उक्त भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार भवन निर्माणका लागि प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माण सामग्रीको मूल्यवृद्धि तथा भुक्तानी व्यवस्थापनमा देखिएको समस्या कारण काम प्रभावित भए पनि निर्माणलाई तीव्रता दिइएको उनले बताए ।

निर्माण व्यवसायीलाई करिब तीन करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको र चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट हालसम्म ६० लाख रुपैयाँ मात्रै बजेट प्राप्त भएको जानकारी दिँदै थप बजेटका लागि पहल भइरहेको उनले बताए । चालु आवमै भवनको पूर्वाधार निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षको असोज–कात्तिकसम्म फर्निचर तथा अन्य आवश्यक व्यवस्थापन गरेर नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने योजना रहेको उनको भनाइ छ ।

तीनतले प्रशासकीय भवनमा २७ वटा कोठा, एक सभाहल र एक बैठक कक्ष रहनेछन्। म्याग्दीका पाँच गाउँपालिकामध्ये आफ्नै प्रशासकीय भवन निर्माण गर्ने पहिलो गाउँपालिका बन्ने धवलागिरिले अन्य पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको छ ।

गाउँपालिकाअन्तर्गत वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवन निर्माणका काम पनि अघि बढेका छन्। धवलागिरि–७ ताकममा पाँच शय्या क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ भने गुर्जा, मल्कबाङ, मुना र मुदीमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएका छन्। लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकी भवन निर्माण भइसकेका छन् ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिइएको छ। वडा नम्बर २, ४ (मुदी), ६ (मराङ) र ७ (ताकम) मा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् । वडा नम्बर ५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको छ ।

स्थायी भवन निर्माणपछि सेवा प्रवाह सहज र व्यवस्थित भएको धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताए । गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालय भवन निर्माण गर्ने योजना अघि बढाएको छ ।

धवलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विद्यालय भवन, खेलमैदान, सामुदायिक स्वास्थ्य एकाइलगायत भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्ने जनाएको छ ।