काठमाडौं — काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका दुई वटा कवाडी संकलन केन्द्रमा बिहीबार डोजर चलाएको छ । महानगर प्रहरी बलको टोलीले टाउन प्लानिङ क्षेत्रभित्र सञ्चालित ती केन्द्रहरू बस्तीबीच रहेर जोखिम बढाएको भन्दै हटाउने कार्य गरेको हो ।
महानगर प्रहरी बलका अनुसार घना बस्तीबीच रहेका कवाडी संकलन स्थलले आगलागी, दुर्गन्ध, फोहोर व्यवस्थापनको समस्या र जनस्वास्थ्यमा जोखिम उत्पन्न गरिरहेको भन्दै डोजर चलाइएको हो ।
काठमाडौं महानगरपालिकाले हालै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान थालेको छ। सो अभियानविरुद्ध कवाडी व्यवसायीहरूले निरन्तर विरोध गर्दै आएका छन्।
यसअघि पनि महानगरले विभिन्न स्थानका कवाडी संकलन केन्द्रमा डोजर चलाउँदै हटाउने कार्य अघि बढाइरहेको छ।



