अध्यक्ष र उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा, आफू अनुकुल हाकिम ल्याउन होडबाजी

सिरहा, चैत १० गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको होडबाजीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको विवादले हत पार गरेको छ ।

दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहदा सेवाग्राही मर्कामा ठुलो असर परेको छ । अध्यक्ष महतो र उपाध्यक्ष यादवको अन्तरविवादका कारण अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतको समेत टुङ्गो लागेको छ्रन । अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृतले फाईदा पाईरहेका छन् । सो विवादका कारण गाउँपालिकाको विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प छन् । त्यसको असर सेवाग्राहीलाई परेको छ ।

समान्य प्रशासन मन्त्रालयको २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अशोककुमार सिंहले पाउनुभएको थियो । तर, सिंह प्रमुख प्रशासकिय अधिकृत भएको अध्यक्ष महतोलाई स्वीकार्य भएन । उहाँलाई गाउँपालिकामा हाजिर गराउन दिईएन । सो कुराको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ । यादव गाउँपालिकामा हाजिर भए पनि उपाध्यक्ष यादवले भने कामकाज गर्न अवरोध गर्नुभएको कर्मचारीहरु बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक कुमार सिंहको ठाउँमा सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको उपाध्यक्ष यादवको आरोप छ । मन्त्रालयले पहिला पठाएका प्रशासकीय अधिकृतको सिंह नै अधिकारिक हुनुपर्ने उहाँको भनाई छ । अशोक सिंहलाई गाउँपालिकाको हाकिमको नबनाए यादवलाई स्वीकार नगर्ने उपाध्यक्षको अडान छ । उहाँले भन्नुभयो, ‘पालिका चलाउनसक्षम व्यक्ति चाहिन्छ, जुन अशोक सिंह हुन् ।

अशोककुमार सिंह २०७५ देखि २०७७ सालसम्म सो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गर्दै आएका हुन् । उहाँको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको छ । तत्कालीन समयमा अशोक कुमार सिंह र अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहबीच हात हालाहालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्झाइबुझाइ गर्ने कुरामा व्यक्तिगत रुपमा लिएर समस्या सृजना भएको अध्यक्ष सन्तोष कुमार महतोले बताउनुभयो । ‘अशोक कुमारको गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाइ गर्न खोज्दा विवाद भएको उहाँको भनाई छ ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको कार्यपालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरेको उहाँले बताउनुभयो । पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष यादवले सुल्झेको विवादमा मलजल गर्न खोजेको अध्यक्ष महतोको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको ३ का वडाध्यक्ष विनोदकुमार यादवको भनाई छ । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई किन ल्याउनुपरेको ‘वडाध्यक्ष यादवले भन्नुभयो, ‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जे पनि गर्न मिल्दैन । जनप्रतिनिधि जनताको विकास गर्नका लागि चुनिएका हुन् । पुराना विवादलाई बल्झाएर पालिकाको काम कारबाहीमा अवरोध सृजना गर्न हुँदैन ।’