ललितपुर – ललितपुरकाे महालक्ष्मी नगरपालिकाले रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले २०८३ साल भदौ ११ गते बसेको बैठकबाट नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब–भत्ता तथा नगरपालिकामा कार्यरत कर्मचारीको सात दिन बराबरको तलब सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।
त्यसरी संकलित रकममा नगरपालिकाको विपद् कोषबाट थप गरी कुल ३० लाख रुपैयाँ नेपाल सरकारको विपद् कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको भन्दै नगरपालिकाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ।
यसैबीच, महालक्ष्मी नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नगर प्रहरी र एम्बुलेन्ससमेत परिचालन गरेको जनाएको छ।
नगरपालिकाले विपद्को कठिन अवस्थामा सरकार, स्थानीय तह, संघ–संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।
‘पीडितको दुःखमा साथ दिनु नै मानवताको सच्चा परिचय हो’ भन्दै नगरपालिकाले विपद् प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबै पक्षबीच हातेमालो आवश्यक रहेको जनाएको छ।



