मेयरको एकलौटी , वडाअध्यक्षद्वारा बैठक बहिष्कार

रुपन्देही, पुस २५ गते । कपिलवस्तुको शिवराज नगरपालिका वडाअध्यक्षहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । नगर प्रमुख अजय थापाले एकलौटी गरेको भन्दै वडाअध्यक्षहरुले हिजो मंगलबार बस्ने नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

वडाअध्यक्षहरु अनुपकुमार चौधरी र रिजवान अहमदले मेयर थापामाथि आरोप लगाउदै बैठक बहिष्कार गरेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख थापा स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत चलेको वडाअध्यक्षहरुको आरोप छ । शिवराज नगरपालिकाको पुस २६ गते हुने १४ औं नगर सभामा आफू अनुकुलका योजना मात्र समावेश गरेको वडा नं ७ का अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

नगरसभामा सबै वडाअध्यक्षको योजना समावेश गर्न अनुरोध गर्दा पनि मेयर थापाले मधेसी समुदायलाई बाइपास गरी एकलौटी पेलेर जान खोजेको वडाअध्यक्ष चौधरीको आरोप छ ।

मेयर थापा र केही कर्मचारीहरुले पालिकालाई आफू अनुकुल गैरकानुनी तवरले चलाउन खोजेको वडा नं ८ का वडाअध्यक्ष रिजवान अहमदले बताउनुभयो । आज बसेको कार्यपालिका बैठकमा मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले आफ्नो योजनालाई बेवास्ता गरी मेयर थापाको इसारामा चलेको आरोप लगाउनुभयो । मेयर थापाले गर्दा वडाको विकास गर्न नसेको निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले आफू कसैको पक्षमा नरहेको बताउनुभयो, । मेयर थापाको इसारामा नचलेको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । राप्रपाबाट मेयर जितेका थापा कार्यपालिकामा एक्लै हुनुहुन्छ । वडा नं ८ को अध्यक्ष चौधरी माओवादी र ८ का अध्यक्ष कांग्रेसका हुन् । बहुमत कार्यपालिका सदस्य एमालेको छ ।