पोखरा महानगरले आज ६७ औँ स्थापना दिवस मनाउँदै

पोखरा — पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउँदै छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन थालिएको महानगरपालिकाले जनाएको छ । यसअघि पोखराले फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख अध्ययन गर्दा विसं २०१६ पुस २ गते पाँच हजार जनसङ्ख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पुष्टि भएको छ । स्थापना भएको ३६४औँ दिनमा नगर पञ्चायतमा परिणत भएको उनले बताए ।

स्थापना दिवसका अवसरमा भाषा–साहित्य, कला (सङ्गीत, नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद, पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवद्र्धनलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नौ जनालाई ‘पोखरेली नवरत्न’बाट सम्मान गरिनेछ । नवरत्नलाई जनही नगद रु दुई लाख दुई हजार २०२, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले जानकारी दिए ।

आज बिहान चिप्लेढुँगाबाट बृहत सांस्कृतिक झाँकीसहितको प्रभातफेरि सुरु भई पोखरा सभागृहमा मूल समारोह आयोजना हुने छ । “स्थापना दिवसलाई भव्य रूपमा मनाउन सबै तयारी पूरा भइसकेको छ,” प्रमुख आचार्यले भने ।

मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई सम्मान गरिनेछ । साथै, ३३ वटै वडामध्ये सरसफाइमा उत्कृष्ट तीन वडा, महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालय तथा तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिने कार्यक्रम छ । उमेर ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मानसमेत प्रदान गरिनेछ ।

स्थापना दिवस समारोहमा पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम भएका स्वदेशी तथा विदेशी नगरका प्रमुख वा प्रतिनिधि, मुलुकभरका महानगर र उपमहानगरपालिकाका प्रमुख, छिमेकी पालिकाका प्रमुख, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारी तथा विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।

स्थापना दिवसका दिन महानगरपालिका तथा मातहतका कार्यालयको नियमित सेवा प्रवाह बन्द रहने जनाइएको छ ।

इतिहासअनुसार विसं २०१६ पुस २ गते नगरपालिका बनेको पोखरा विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा भएको थियो । विसं २०७३ फागुन २७ गते पोखरा वरपरका साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो । पछि नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७५ साउन २३ गतेको निर्णयअनुसार ‘पोखरा महानगरपालिका’ नाम कायम भई विसं २०७५ भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।