करोडौँ मूल्यको सुन्तला उत्पादन हुने तनहुँमा तथ्याङ्क सङ्कलन गरिदै

तनहुँ – जिल्लाभित्र उत्पादित सुन्तलाको यथार्थ विवरण सङ्कलन गर्न कृषि विकास कार्यालयले काम सुरु गरेको छ । व्यावसायिक रूपमा सुन्तलाखेती गरिएका क्षेत्रहरूमा कार्यालयले स्थलगत रूपमा पुगेर उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन गरिरहेको छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार सुन्तला बगैँचा अवलोकन गर्दै किसानले भोग्दै आएका समस्या पहिचान गर्नुका साथै सम्भावित समाधानका उपायबारे जानकारीसमेत गराइँदै आएको छ । तनहुँबाट वार्षिक रूपमा करोडौँ रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। बेनीकोटका किसान दलबहादुर थापाका अनुसार पछिल्ला केही वर्षयता सुन्तलाका बोट सुक्दै जाने समस्या देखिएको छ । उनले यस वर्ष बेनीकोट क्षेत्रबाट मात्र रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री भइसकेको जानकारी दिनुभयो। उक्त क्षेत्रमा १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।

कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु ४२ करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको थियो । उक्त वर्ष एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलबाट पाँच हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो भने तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको तथ्याङ्क कार्यालयसँग छ ।

जिल्लामा आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको बताउँदै कार्यालयले सुन्तला कृषकलाई बगैँचा व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।