बाँके – बाँकेको सिधनियाघाटस्थित राप्ती नदीमा ७०० मिटर लम्बाइको पक्की पुल धमाधम निर्माण भइरहे पनि स्थानीयवासी भने खुसी हुन सकेका छैनन् । राप्ती नदीको पानी बग्ने सम्पूर्ण भूभाग समेटिने गरी पुल निर्माण नभएको भन्दै स्थानीयले निर्माणाधीन पुलको लम्बाइ बढाएर कम्तीमा एक हजार १४० मिटर पुर्याउन माग गरेका छन् ।
नरैनापुर र राप्ती सोनारी गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्ने सिधनियाघाटमा अहिले २०६२ सालमा निर्माण भएको ३५० मिटर लम्बाइको एक लेनको पक्की पुल सञ्चालनमा छ । सोही स्थानमा ७०० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्को पक्की पुल निर्माणाधीन छ । तर नदीको वास्तविक बहाव क्षेत्रभन्दा छोटो लम्बाइमा पुल निर्माण भइरहेको भन्दै स्थानीयले यसले सुविधा दिनुभन्दा भविष्यमा डुबान र कटानको जोखिम बढाउने चिन्ता व्यक्त गरेका छन् ।
राप्तीसोनारी–६ का स्थानीय प्रदीपकुमार पौडेलका अनुसार पुल निर्माणका लागि तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा नदी वारपार गर्न एक हजार १४० मिटर पुल आवश्यक पर्ने उल्लेख गरिएको थियो । तर अहिले निर्माणाधीन पुल भने ७०० मिटरमै सीमित गरिएको उनकाे भनाइ छ ।
“सुरुमा डिपिआर तयार गर्दा नदी वारपारको भूभाग नापजाँच गरेर एक हजार १४० मिटर आवश्यक पर्ने भनिएको थियो । अहिले पुल ७०० मिटरमा मात्र सीमित गरिएको छ,” पौडेलले भने, “यसरी नदीको पूरै बहाव क्षेत्र नसमेटी पुल निर्माण गर्दा भविष्यमा समस्या झनै बढ्न सक्छ ।”
स्थानीयवासीका अनुसार राप्ती नदीको बहाव र धार परिवर्तन हुने प्रकृतिका कारण सिधनियाघाटमा पुलको लम्बाइ छोटो राख्दा नदीको बहावलाई व्यवस्थित गर्न कठिन हुनेछ । पुलको बाँकी क्षेत्रमा ड्याम वा अन्य संरचना निर्माण गरिए त्यसले नदीको बहावमा थप असर पार्न सक्ने उनीहरूको चिन्ता छ ।
राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले निर्माणाधीन पुल स्थानीयवासीका लागि सुविधाभन्दा बढी सुरक्षा र जोखिमको विषय बनेको बताए । राप्ती नदीको पूरा चौडाइ ओगट्ने गरी पुल निर्माण नगरिए आगामी वर्षमा डुबान र कटानको जोखिम बढ्न सक्ने उनकाे भनाइ छ ।
राप्ती नदीका कारण २०७० र २०७४ सालमा आएको बाढीले यस क्षेत्रमा ठूलो धनजनको क्षति गरेको स्मरण गर्दै खरेलले नदीबाट स्थानीय नागरिकलाई जोगाउन पनि पुलको लम्बाइ नदीको सम्पूर्ण बहाव क्षेत्रसम्म पुर्याउनुपर्ने बताए।
“निर्माणाधीन पुल ७०० मिटरमा मात्रै छ, पुल नदी बग्ने पूरा भाग एक हजार १४० मिटरमै निर्माण गर्नुपर्दछ,” उनले भने, “अपूरो पुल बनाउँदा यहाँका स्थानीयको समस्या समाधान हुँदैन, बरु आगामी दिनमा डुबान र कटानको सम्भावना अझ बढ्न सक्छ ।”
डुडुवा–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि सिधनियाघाटमा ७०० मिटरको मात्र पुल निर्माण गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले बाँकी ४४० मिटर भागमा समेत पुल निर्माण गर्नुपर्ने बताए ।
उनका अनुसार पुलको बाँकी भागमा ड्याम निर्माण गर्दा नदीको प्राकृतिक बहावमा असर पर्न सक्ने र त्यसले भविष्यमा थप जोखिम निम्त्याउन सक्छ । स्थानीयले पुलबाट पाउनुपर्ने सेवा र सुविधा पनि पूर्ण रूपमा प्राप्त गर्न नसक्ने भएकाले नदीको सम्पूर्ण बहाव क्षेत्र समेटिने गरी पुल निर्माण गर्नुपर्ने उनकाे भनाइ छ ।
राप्ती नदी सिधनियाघाटसम्म पूर्वबाट बगेर आउने र त्यहाँ पुगेपछि मोडिएर पुनः पूर्वतिरै बग्ने भएकाले यस क्षेत्रमा नदीको धार र बहावका कारण बर्सेनि स्थानीयका जग्गा कटान र डुबानमा पर्ने गरेको थापाले बताए ।
“राप्ती नदीको बहाव यहाँ आएर मोडिन्छ । हरेक वर्ष नदीले स्थानीयको जमिन कटान गर्ने र डुबाउने गरेको छ,” उनले भने, “त्यसैले अहिले निर्माण भइरहेको पुललाई नदीको पूरै भाग समेट्ने गरी बनाउनुपर्छ । ७०० मिटरमा मात्र पुल बनाएर बाँकी भागमा ड्याम बनाउँदा समस्या समाधान हुँदैन ।”
स्थानीयवासीले पुलको लम्बाइ बढाउनुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरूले पुल निर्माणसँगै नदी नियन्त्रण र स्थानीय बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत नेपालगन्ज योजना कार्यालयका प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले स्थानीयवासीले उठाएको पुलको लम्बाइ बढाउने माग मन्त्रालयमा पठाउने जानकारी दिए । उनले स्थानीयको माग र नदीको अवस्थाबारे सम्बन्धित निकायमा जानकारी गराइने बताए ।
निर्माणाधीन पुलको कुल लागत एक अर्ब १९ करोड रुपैयाँ रहेको छ । आयोजनाअन्तर्गत हालसम्म करिब ९० करोड रुपैयाँ भुक्तानी भइसकेको भण्डारीले जानकारी दिए । २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको पुल २०८४ असोज ४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुल निर्माणसँगै पश्चिमतर्फ एक हजार मिटर र पूर्वतर्फ ४८० मिटर गरी कुल एक हजार ४८० मिटर पहुँच सडकसमेत निर्माण हुनेछ । पुल आसपास करिब चार हजार ६०० मिटर क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध निर्माणको कामसमेत आयोजनाअन्तर्गत हुने भण्डारीले बताए।
तर स्थानीयवासीको मुख्य चासो भने पुलको लम्बाइमै केन्द्रित छ । उनीहरू नदीको वास्तविक बहाव क्षेत्रभन्दा छोटो पुल बनाएर बाँकी भागलाई अन्य संरचनाबाट नियन्त्रण गर्न खोजिए त्यसले दीर्घकालमा नदीको धार परिवर्तन, कटान र डुबानको जोखिम बढाउन सक्ने बताउँछन् ।
नेपालगन्जसँग नरैनापुर र राप्ती सोनारीका बस्तीलाई जोड्ने सिधनियाघाटको पुल यातायातका दृष्टिले मात्र नभई बाढी तथा नदीजन्य विपद्को जोखिम न्यूनीकरणका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । त्यसैले निर्माणाधीन पुललाई कति लम्बाइमा निर्माण गर्ने भन्ने विषयले अहिले स्थानीयवासी र सम्बन्धित निकायबीच चासोको विषय बनेको छ ।



