कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो यस्तो अङ्क

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको महानगरपालिकाको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गर्दै पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको हो ।

स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न ‘स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२’ अनुसार विभिन्न सूचक निर्धारण गरिएको छ । सोही सूचकका आधारमा महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन गरिएको हो ।

मूल्याङ्कनमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापन गरी पाँच क्षेत्रलाई समेटिएको छ ।

महानगरपालिकाका अनुसार कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना अनुगमन तथा निरीक्षणलाई एकीकृत गरिएको छ । त्यसका आधारमा तयार हुने एकीकृत प्रतिवेदन भदौ १५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरिनेछ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रतिवेदनलाई मूल्याङ्कन समन्वय समितिमा छलफल गराई प्रमुखसमक्ष पेस गर्ने व्यवस्था गरिएको छ । सम्बन्धित शाखाबाट प्राप्त प्रारम्भिक नतिजालाई समेत विषयगत समितिमा छलफलका लागि पठाइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सूचकगत अङ्क र त्यसको पुष्टि हुने प्रमाण तथा कागजातको अध्ययन र विश्लेषणपछि कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ । अन्तिम नतिजा असोज मसान्तभित्र सार्वजनिक गरिने महानगरपालिकाको भनाइ छ ।