भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

बर्दिया – भोटेकोशी बाढीले बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारलाई शोकको गहिरो अँध्यारोमा धकेलेको छ । नुवाकोटमा कार्यरत सोमनाथसहित उनकी पत्नी र २८ महिनाका जुम्ल्याहा छोराछोरी बाढीपछि सम्पर्कविहीन भएपछि पौडेल परिवार अहिले उनीहरू फर्किने आशामा दिनरात पर्खिरहेको छ ।

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय तथा २८ महिनाका जुम्ल्याहा छोरा शिवान्स र छोरी तिसिया भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

छोरा, बुहारी र नातिनातिना एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ । बुबा उमानाथ उपाध्यायका आँखा छोराको खबर पर्खंदापर्खंदै रसाइरहेका छन् । फोनको घण्टी बज्दा पनि उनीहरूकै खबर आयो कि भन्ने आशा पलाउँछ, तर अहिलेसम्म कुनै निश्चित सूचना आएको छैन ।

“छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ,” उमानाथले आँसु झार्दै भने, “हामी रातदिन छोराबुहारी र नातिनातिनाकै पर्खाइमा छौँ, तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन ।”

घरमा नातिनातिनाले खेलाएको दृश्य अहिले सम्झनामा मात्र बाँकी छ । उनीहरूको चञ्चलता र आवाजले भरिने घर अहिले सुनसान बनेको छ । आमा लक्ष्मी उपाध्याय नातिनातिनालाई सम्झिएर दिनरात विलाप गर्ने गरेको उमानाथले बताए ।

“बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो,” उनले भने, “हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ ।”

सोमनाथलाई इन्जिनियर बनाउन उमानाथले जीवनभर गरेको संघर्षको कथा पनि उत्तिकै पीडादायी छ । सामान्य परिवारबाट छोरालाई उच्च शिक्षा दिलाउन उनले आफ्ना आवश्यकता थाती राखेर खर्च जुटाए ।भारतको चेन्नईस्थित अन्ना विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाउन उहाँले ठूलो दुःख गरेका थियो ।

छोरालाई पढाउन गरेको संघर्ष सम्झँदै उमानाथ भन्छन्, “आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ । यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो ।”

सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत थिए । छोराछोरी सानै भएकाले उहाँ परिवारसहित नुवाकोटमै बस्दै बताएका थिए । रोजगारीका लागि घरबाट टाढा पुगेका सोमनाथको परिवार नै बाढीको चपेटामा परेपछि बर्दियामा रहेका आफन्तका लागि नुवाकोटको घटना कहिल्यै नसकिने पीडाजस्तो बनेको छ ।

भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा सोमनाथका दाजु तुलसीराम पौडेल दुईपटक नुवाकोट पुगेकाछन् । घटनास्थलमा सात दिनसम्म बसेर विभिन्न ठाउँमा खोजी गरे पनि भाइको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको उनले बताए ।

“भाइ र बुहारीको खोजीमा दुईपटक नुवाकोट गएँ । सात दिन बसेँ, तर कतै पनि पत्ता लागेन,” तुलसीरामले भने, “भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ । कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए ।”

आफन्तले सम्भावित सबै ठाउँमा खोजी गरे पनि चारै जनाको अवस्था अझै अज्ञात छ । परिवारका लागि सबैभन्दा कठिन अवस्था भनेको आशा र निराशाबीचको यही अनिश्चित प्रतीक्षा बनेको छ ।

छोराको पहिचानका लागि उमानाथले यही भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा डिएनए परीक्षणका लागि रगतको नमूना दिएकाछन् । बुहारी ताराको डिएनए परीक्षणका लागि उनका ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना दिएका छन् । तर दुवै परीक्षणको रिपोर्ट अझै प्राप्त भएको छैन ।

एकातिर आफ्नै परिवारका चार सदस्यको अवस्था अज्ञात छ भने अर्कोतर्फ बर्दियाबाट रोजगारी तथा कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका धेरै परिवार आफ्ना आफन्तको खबर पर्खिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालका अनुसार बर्दियाका मात्रै ७६ जना अझै सम्पर्कविहीन छन् । बाँसगढी नगरपालिकाका १२ जना सम्पर्कविहीन रहेको उनले बताए । बाँसगढीबाट कामको सिलसिलामा नुवाकोट तथा रसुवा पुगेका ५३ जना भने घर फर्किसकेका छन् ।

पौडेल परिवारका लागि भने फर्किएर आउने ती ५३ जनाको खबरले पनि चार सदस्यको खोजीमा रहेको पीडा कम गर्न सकेको छैन । नुवाकोटको बाढीपछि हराएका आफ्ना छोरा, बुहारी र नातिनातिना कुनै दिन ढोकामा आइपुग्लान् कि भन्ने आशामा वृद्ध आमाबुबा अझै बाटो हेरिरहेका छन् । समय बित्दै जाँदा आशा कमजोर हुँदै गए पनि उनीहरूको प्रतीक्षा भने रोकिएको छैन ।