काठमाडौं – नेपालमा होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा आयोजना हुने भोज–भतेरमा ठूलो मात्रामा खाना फालिने गरेको पाइएको छ। सरोकारवालाका अनुसार भोजमा करिब ३० देखि ४० प्रतिशतसम्म खाना फालिने गरेको छ ।
अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आउनुभएका जनप्रकाश चापागाईंले भोजमा प्लेट भरिने गरी विभिन्न परिकार राखिँदा करिब आधा खाना फालिने गरेको बताए । उनका अनुसार होटल तथा पार्टी प्यालेसमा हुने भोज–भतेरमा खाना खेर जाने प्रवृत्ति व्यापक छ ।
चापागाईंले ग्रामीण क्षेत्रमा फालिएको खाना पशुपन्छीले उपयोग गरे पनि सहरी क्षेत्रमा भने त्यो सिधै फोहोरमा परिणत हुने बताए । खाना फाल्न रोक्न विभिन्न प्रयास गरिए पनि प्रभावकारी नतिजा आउन नसकेको उनको भनाइ छ ।
त्यसैगरी, सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले करिब ४० प्रतिशतसम्म खाना फालिने गरेको अनुभव सुनाए । उनका अनुसार केही स्थानमा खाना प्याक गरेर लैजाने व्यवस्था गरिए पनि प्रभावकारी हुन सकेको छैन ।
न्यौपानेले भोजमा अत्यधिक परिकार राख्ने र सबै चाख्ने प्रवृत्तिका कारण खाना बढी खेर जाने बताउँदै यसले आयोजकको खर्च समेत बढाउने उल्लेख गरे ।
यसैबीच, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा. डा. सूर्यकान्त घिमिरेले विश्वभर फालिने खाना बचाउन सके करिब ३० प्रतिशत जनसंख्यालाई खुवाउन सकिने बताए । उनका अनुसार नेपालमा पनि खाना फाल्ने प्रवृत्ति धेरै भएकाले यसलाई रोक्न सामूहिक पहल आवश्यक छ ।
उनले खाद्य बचत, खानामा विविधीकरण र उपभोग व्यवहारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै बाँझो जमिनको उपयोग र घरेलु उत्पादन बढाउन सके खाद्यान्न आयात घटाउन सकिने धारणा व्यक्त गरे ।



