काठमाडौं – काठमाडौँ महानगरपालिकाले सेवा निवृत्त १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई जनही २ लाख रुपियाँसहित सम्मान गरेको छ । २२ औँ राष्ट्रिय तथा काठमाडौँ महानगरपालिकाको १४औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८२ को अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो ।
समारोहमा दुई जना स्वयमसेविकाका हकवालालाई मरणोपरान्त सम्मान गरिएको थियो । सम्मान कार्यक्रम महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तथा स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले गरेका हुन् ।
महिला स्वास्थ्य स्वयमसेविका रणनीतिबमोजिम ६० वर्षको उमेरसम्म सेवा गर्न पाइने र त्यसपछि सेवा निवृत्त हुने व्यवस्था रहेको छ । सोही मापदण्डअनुसार सेवा अवकाश पाएका स्वयमसेविकालाई सम्मानपत्रसहित नगद राशि प्रदान गरिएको हो ।
त्यसै अवसरमा महानगरपालिकाका प्रत्येक वडाबाट एक–एक जना गरी उत्कृष्ट कार्यसम्पादन गरेका स्वयमसेविकालाई ५ हजार रुपियाँसहित ‘उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका’ सम्मान समेत प्रदान गरिएको थियो ।
महिला स्वास्थ्य स्वयमसेविकाले समुदायमा मातृशिशु स्वास्थ्य, पोषण, खोप, परिवार नियोजन तथा जनस्वास्थ्य सचेतनामा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै महानगरपालिकाले उहाँहरूको योगदानको सम्मानस्वरूप यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।



