वीरगञ्ज महानगरमा लगाइएको कफ्र्यू हटाइयो

वीरगञ्ज — दुई धार्मिक समुदायबीच उत्पन्न तनावका कारण वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कफ्र्यू हटाइएको छ ।

मंगलबार सम्पन्न सर्वपक्षीय बैठकबाट पाँच बुँदे सहमति जुटेपछि कफ्र्यू हटाउने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कफ्र्यू अवधि थप गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा सर्वदलीय तथा सर्वपक्षीय बैठकमा भएको सहमति, जिल्लाको शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको तथा नागरिकको आवागमन, व्यापार–व्यवसाय र दैनिक जीवन सहज बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कफ्र्यू आदेश हटाइएको उल्लेख छ ।

सूचनाअनुसार मिति २०८२÷०९÷२२ गते अपरान्ह ३ः३० बजेदेखि लागू हुने गरी कफ्र्यू पूर्ण रूपमा हटाइएको हो ।

प्रशासनले वीरगञ्जवासीलाई संयम अपनाउन र शान्ति तथा सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।