काठमाडौँ – टुकुचा खोलालाई पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा आएको हो ।
एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा करिब एक अर्ब ५२ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजना सन् ८ जुन २०२२ मा सुरु भएको हो । आयोजनालाई ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्नपछि पाँच वर्षसम्म सञ्चालन सेवा अवधि रहने व्यवस्था गरिएको छ ।
आयोजनाको ठेक्का पासाभान्त–कालिका–एसनेट–जेभी ले लिएको छ भने परामर्श सेवाको जिम्मेवारी ईपीटीआईएसए सर्भिसियस दे इन्जिनेरिया एस.एल. सहितको संयुक्त टोलीले सम्हालेको छ ।
केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले निर्धारित समयमै आयोजना सम्पन्न गर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिएकाे बताइएको छ ।
प्रशोधन केन्द्र निर्माणपछि टुकुचा खोलामा बग्ने प्रदूषित पानी प्रशोधन भई वातावरणीय सुधार हुनुका साथै दीर्घकालीन रूपमा खोलालाई पिउनयोग्य बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।



