भद्रपुर अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

झापा – झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन्। अघिल्लो आव २०८१/८२ मा यस्तो सङ्ख्या ७८७ जना मात्र थियो।

त्यसैगरी, आव २०८०/८१ मा अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए। पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या निरन्तर बढेको देखिन्छ।

गत आवमा प्रसूति सेवा लिएकामध्ये ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात शिशुलाई जन्म दिएका थिए भने ९२२ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका थिए। प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनामा ‘भ्याकुम’ प्रविधि प्रयोग गरिएको अस्पतालले जनाएको छ।

तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो।

यसअघि डा एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्थ्यो। गत वर्ष डा विपा पोखरेल र चालु आर्थिक वर्षको असारदेखि डा एलिजा भट्टराई थपिएपछि अस्पतालमा हाल तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन्।

विशेषज्ञ चिकित्सकको उपलब्धता, सेवा विस्तार र उपचारको गुणस्तरमा सुधार आएपछि सरकारी अस्पतालमा प्रसूति गराउन आउने महिलाको सङ्ख्या बढेको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै गुणस्तर सुधार हुँदै गएपछि भद्रपुर तथा आसपासका क्षेत्रका महिलासमेत निजी स्वास्थ्य संस्थाको विकल्पमा प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन आकर्षित हुन थालेको जनाएको छ।