काठमाडौँ – शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत भएको छ ।
विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयको उद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनादेखि हालसम्म सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाका अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा दुई लाख ६० हजारले सङ्ग्रहालय अवलोकन गरेका थिए । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० पर्यटकले अवलोकन गरेका छन्।
सरकारले सङ्ग्रहालय प्रवेश शुल्क निर्धारण गर्दै आएको छ । विद्यार्थीले रु ५०, नेपाली नागरिकले रु २००, सार्क राष्ट्रका नागरिकले रु ५०० र विदेशी नागरिकले रु १,००० तिर्नुपर्ने व्यवस्था छ ।
सङ्ग्रहालय प्रत्येक हप्ताको मङ्गलबार र बुधबार बन्द रहँदै आएको छ भने शनिबार तथा अन्य बिदाको दिन खुला रहन्छ ।



