एक वर्षमै ७ हजारले गरे आत्महत्या

काठमाडौं असार १२ गते । चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा देशभर ६ हजार ९६३ जनाले आत्महत्या गरेका छन् । तथ्याङकमा हेर्ने हो भने एकै दिनमा २१ जनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३ हजार ४९८ पुरुष, एक हजार ९८३ महिला, २४२ बालक र ४४४ जना बालिका रहेका छन् ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका थिए । त्यसअघि एकै आर्थिक वर्ष यति धेरैले आत्महत्या गरेका थिएनन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा देशभर ६ हजार ८३० वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका थिए । त्यसमा पुरुष ३ हजार ८६०, महिला २ हजार २६१, बालक २५३ र बालिका ४५६ जना रहेका थिए । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा नेपालमा मासिक औसतमा ५ सयभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिएको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार ३६५ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा एक हजार १५६, मधेश प्रदेशमा ९१४, बागमती प्रदेशमा ८४२, गण्डकी प्रदेशमा ६६२, कर्णाली प्रदेशमा २५१, सुदूर पश्चिम प्रदेशमा ५०५ र काठमाडौं उपत्यकामा ४७२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ३१२ पुरुष, १४९ महिला, ६ बालक र ५ बालिकाले आत्महत्या गरेको पाइएको छ । सबैभन्दा बढी बालिकाले मधेश प्रदेशमा आत्महत्या गरेका छन् । त्यहाँ मात्र १३९ जना बालिका र ३३८ जना महिलाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षमा पनि त्यहाँ १७६ जना बालिका र ३६५ जना महिलाले आत्महत्या गरेका थिए ।

पछिल्ला ६ आर्थिक वर्षमध्ये २०७४/७५ मा ५ हजार ३५९, २०७५/७६ मा ५ हजार ७८५ र २०७६/७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेका थिए ।

१६१ वटा आत्महत्या दुरुत्साहनका मुद्दा

चालू आर्थिक वर्षमा देशभर १६१ वटा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीका आधारमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २८ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै कोशी प्रदेशमा २०, मधेशमा २१, बागमतीमा २३, गण्डकीमा १०, कर्णालीमा ११ र सुदूरपश्चिममा २४ वटा आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २४ वटा यस्ता मुद्दा दर्ता भएको छ ।