गुल्मी, – गुल्मीको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्ने गरी छल्दी खोलामा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
धुर्कोट गाउँपालिका–५ को वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्ने उक्त पुल निर्माण भएपछि खोला वारिपारि आवतजावत गर्ने स्थानीयलाई ठूलो राहत पुगेको छ ।
सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत करिब रु एक करोड ८४ लाख लागतमा पुल निर्माण गरिएको हो । पुलको भारवहन क्षमता करिब ७९९ जना मानिस अट्ने गरी निर्माण गरिएको बताइएको छ ।
पुल निर्माणसँगै पहिले घण्टौँ लगाएर घुमाउरो बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयको भनाइ छ । स्थानीय रामबहादुर मुखियाका अनुसार हिउँदमा खोला तरेर आवतजावत गरिए पनि वर्षायाममा निकै घुमेर जानुपर्ने समस्या थियो । “अब पुल बनेपछि त्यो समस्या हटेको छ,” उनले भने, ।
स्थानीय बोमलाल भण्डारीका अनुसार पुल बनेपछि त्यस क्षेत्रको विद्यालय र पर्यटकीयस्थलमा पुग्न पनि सहज भएको छ । पुलका कारण विद्यार्थीलाई हिमालय माध्यमिक विद्यालय पुग्न तथा पर्यटकलाई विचित्र गुफा अवलोकन गर्न सहज भएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल का अनुसार पुल निर्माणले स्थानीय जनजीवन सहज बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ । उनका अनुसार मदनभण्डारी राजमार्ग बाट झोलुङ्गे पुल पार गरेपछि करिब १० मिनेटमै विचित्र गुफा पुग्न सकिने भएकाले पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
पुल बनेपछि घुमघाम, तस्बिर खिच्न र सामाजिक सञ्जालका सामग्री बनाउन आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।



