काठमाडौं — देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सडक बग्ने, पहिरो खस्ने तथा डुबानको जोखिम बढेसँगै यात्रुहरू बाटोमै अलपत्र पर्न थालेका छन् भने यातायात, ढुवानी तथा दैनिक जनजीवनसमेत प्रभावित बनेको छ।
गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार पछिल्लो एक सातायता (असार २२ देखि २९ गतेसम्म) देशभर ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका घटनापछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक विभाग र नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका अधिकांश प्रमुख सडकखण्ड प्रभावित भएका छन्।
बागमती र लुम्बिनीमा बढी प्रभाव
बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा असार २९ गते खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथमा असार २७ गतेदेखि पहिरोका कारण ललितपुर–हेटौँडा सडकखण्ड बन्द छ।
त्यसैगरी, काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डअन्तर्गत बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
लुम्बिनी प्रदेशमा गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा असार २९ गते गएको पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
यद्यपि पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
कोशी र गण्डकीका सडक पनि प्रभावित
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि वैकल्पिक मार्ग प्रयोग गरेर सीमित रूपमा सवारी सञ्चालन भइरहेको छ।
भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। गण्डकी प्रदेशको कास्की मादी गाउँपालिका–२ ज्याम्दुमा असार २७ गते खसेको पहिरोका कारण पोखरा–ताङतिङ सडकखण्ड अझै पूर्ण रूपमा बन्द रहेको छ।
देशभर ५६ स्थानमा सतर्कता चेतावनी
गृह मन्त्रालयको रियलटाइम विपद् पोर्टलका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कैलालीदेखि सुनसरीसम्म बाढी, भारी वर्षा र सडक अवरोधका नयाँ घटना दर्ता भएका छन्।
असार २९ गते बिहान कैलालीको कैलारी गाउँपालिका–५ मा बाढी आएको छ भने सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा भारी वर्षा भएको छ। रुपन्देहीको सैनामैना–१० क्षेत्रमा पनि सडक अवरोधको सूचना प्राप्त भएको छ।
त्यस्तै, पर्वतको जलजला गाउँपालिका–३ मा एकै दिन दुई पटक बाढी आएपछि स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि सडक अवरुद्ध भएको जनाइएको छ।
प्रहरी तथा स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक पहिरो प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षाका कारण मर्मत तथा पुनः सञ्चालनका काम प्रभावित भइरहेको सडक विभागले जनाएको छ।



