माघ ६ अघि नै बालेनले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिनुपर्ने

काठमाडाै‌ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सात बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) संसदीय राजनीतितर्फ अघि बढ्ने भएका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय भइसकेको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रास्वपा र बालेन शाहबीच भएको सहमतिअनुसार निर्वाचनपछि बालेन शाह रास्वपाको संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने उल्लेख छ । सोही कारण बालेनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुपर्ने हुन्छ ।

तर, प्रचलित कानुनअनुसार स्थानीय तहका जनप्रतिनिधिले संसदीय निर्वाचनमा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार बालेन शाहले उम्मेदवारी दर्ता गर्न माघ ६ गते वा सोभन्दा अघि नै काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिइसक्नुपर्नेछ ।

बालेन शाहले राजीनामा दिएपछि स्थानीय सरकार सञ्चालन ऐनअनुसार काठमाडौँ महानगरपालिकाको नेतृत्व उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखका रूपमा सम्हाल्नेछिन् । कार्यवाहक मेयरका रूपमा उनले महानगरको नियमित प्रशासनिक तथा विकाससम्बन्धी कामको जिम्मेवारी लिने व्यवस्था छ ।

रास्वपा र बालेन शाहबीच भएको सहमतिले देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग सिर्जना गरेको छ । स्वतन्त्र छविका नेता बालेन शाहको संसदीय राजनीतिमा प्रवेशले आगामी प्रतिनिधिसभा निर्वाचनलाई थप चासोपूर्ण बनाउने विश्लेषण गरिएको छ ।