काठमाडौं – ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्क सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा विस्तार गर्ने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका विभिन्न दुर्गम भेगमा टावर विस्तार गरेको छ ।
नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्रअन्तर्गत जुम्ला, कालीकोट र मुगु जिल्लामा गरी जम्मा ८६ वटा टेलिफोन टावर विस्तार गरिएको शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।
उनका अनुसार कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर निर्माण तथा विस्तार गरिएको हो । “जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भई सञ्चालनमा आएको छ,” पुजाराले भने, “लामो समयदेखि टेलिफोन टावर नहुँदा यहाँका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित थिए ।”
सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनका अनुसार टेलिकम सेवा सुरु भएपछि स्थानीयवासीलाई दैनिक जीवन, सूचना आदान–प्रदान तथा आपतकालीन सेवामा सहजता आएको छ ।
नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा भने हाल जुम्ला सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहसम्म फाइबर इन्टरनेट सेवा पु-याउने काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ ।
नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णाली प्रदेशका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार भइसकेको छ ।



