सर्लाही – सर्लाहीको हरिवन नगरपालिकास्थित हरिवन–१ भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भोक्टेनीका बासिन्दाले अहिले दैनिक सहज रूपमा स्वच्छ पानी पाउन थालेका छन् ।
हरिवन–१ भोक्टेनीकी कविता कुमारीका अनुसार पहिले इनारको पानी खानु पर्ने बाध्यता थियो । “हिउँद लागेपछि इनारको पानीको सतह घट्थ्यो । चैत–वैशाखमा धमिलो पानी खान इनारमा झगडा नै हुन्थ्यो,” उनले भने, अहिले घरमै धारा जडान भएपछि दैनिकी निकै सहज भएको उनको भनाइ छ ।
त्यस्तै, स्थानीय कुल्सुम खातुनले पनि हिउँद याममा पानीका लागि इनारमा झै–झगडा हुने गरेको स्मरण गरे । “अहिले बिहान र बेलुका दुई पटक घरमै पानी आउँछ। धेरै सुविधा भएको छ,” उनले सुनाए, । विवाह भएर गाउँ आउँदा खानेपानीका लागि महिला र बालबालिकाले चुरे फेदीसम्म झोरामा पानी बोक्नुपर्ने बाध्यता रहेको उनले बताए ।
भोक्टेनी क्षेत्रमा करिब २०० घरधुरीका लागि ५२ भन्दा बढी साना–ठूला इनार खनिएका थिए। तर पछिल्ला केही वर्षयता ती इनारमा पानी सुक्दै गएपछि गाउँ नै गम्भीर खानेपानी सङ्कटमा परेको थियो । अवस्था जटिल बन्दै गएपछि २०७९ सालदेखि यहाँ खानेपानी योजना सुरु गरिएको हो ।
अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकेश साहका अनुसार वडा कार्यालयको रु ३५ लाख र मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाको क्षेत्र विकास बजेटबाट रु ३७ लाख गरी कुल रु ७२ लाख लागतमा खानेपानीको व्यवस्था गरिएको हो । हाल डिप बोरिङमार्फत पानी निकालेर दिनमा दुई पटक उपभोक्ताको धारामा वितरण गरिँदै आएको उनले बताए ।
“हाल पानीको प्रयोगशालाबाट परीक्षण गर्दा खान योग्य देखिएपछि वितरण गरिएको हो,” अध्यक्ष साहले भने,। आयोजनालाई दिगो बनाउन कम्पाउण्ड, ओभरहेड ट्याङ्की लगायतका संरचना आवश्यक रहेकाले वडा, नगर, प्रदेश र सङ्घ सरकारसँग थप पहल भइरहेको उनकोे भनाइ छ ।
यस आयोजनाका लागि स्थानीय हरिनारायण ठाकुरले दुई कठ्ठा र वडा सदस्य उदयनारायण ठाकुरले एक कठ्ठा गरी तीन कठ्ठा जग्गा उपलब्ध गराएको वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिए । “वर्षौँदेखि स्थानीयले भोग्दै आएको पानीको समस्या समाधान गर्न वडाले पहल गरेर खानेपानीको व्यवस्थापन गरिएको हो,” उनले भने, ।
वडाध्यक्ष घिसिङका अनुसार ३५ लाख बजेटबाट विद्युत् लाइन विस्तार, ट्रान्समिटर खरिद, ५०० फिट गहिरो डिप बोरिङ तथा विद्युतीय मोटर जडान गरी तत्कालका लागि पानी वितरण सुरु गरिएको हो। हाल २०० घरमध्ये १५५ घरमा धारा जडान भइसकेको छ।
बाँकी घरधुरीमा पनि धारा जडानको प्रक्रिया अघि बढिरहेको उपभोक्ता समितिले जनाएको छ। यस आयोजनाबाट भोक्टेनीसहित आसपासका गाउँलाई समेत खानेपानी उपलब्ध गराउने योजना रहेको बताइएको छ।



