शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (ऋक्ष्द्य) लाई आदेश दिएको छ ।

मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न तथा बन्दीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो ।

यसअघि गोल्छाकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण (ह्याबियस कर्पस) रिट दायर गरेकी थिइन् । रिटमा गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल अदालतमा उपस्थित गराउन माग गरिएको थियो ।

यता, काठमाडौं जिल्ला अदालतले भने सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतको उक्त आदेशपछि पनि सर्वोच्चले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै गोल्छालाई इजलाससमक्ष उपस्थित गराउन आदेश दिएको हो ।

अब सर्वोच्च अदालतमा गोल्छाको उपस्थितिसँगै पक्राउको वैधानिकता र हिरासतको अवस्थाबारे थप कानुनी बहस हुने अपेक्षा गरिएको छ ।