काठमाडौं – प्रतिनिधिसभा बैठकबाट सभामुख पदमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ । सभामुख पदका लागि शुक्रबार भएको मनोनयन दर्ताका क्रममा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् । अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति हुन् ।
संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा को बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभा को बैठक दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ ।
सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख पदमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।
त्यस्तै अर्यालकाे पद तथा गोपनीयताको शपथ पनि आजै तयारी भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले अर्यालको शपथ आज दिउँसो साढे २ बजेका लागि तय भएको छ ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।
यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ । साथै, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।
कार्यसूचीअनुसार बालेन शाह ले राष्ट्रिय महिला आयोग को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा पेस गर्ने कार्यक्रम रहेको छ।
संघीय संसद् सचिवालय का महासचिव पद्मप्रसाद पाण्डेयले आजका बैठकमा उक्त प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको जानकारी दिनुभएको छ।



