प्रधानमन्त्रीज्यू, घुसकाण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्नूस् : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले घुस काण्डको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैंले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गरेका हुन् ।

Shivam Cement

मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्नेकुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्,’ उनले भने ।