वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा मनाइने इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्राका लागि रथ निर्माण, सरसफाइ, सम्पदा क्षेत्रको रङरोगन तथा आवश्यक व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका छन्।

इन्द्रजात्रालाई लक्षित गर्दै दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।

उनका अनुसार इन्द्रजात्रालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न व्यवस्थापन समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक छलफल गरिएको छ। जात्राका क्रममा ठूलो संख्यामा भक्तजन तथा स्वदेशी–विदेशी पर्यटकको सहभागिता हुने भएकाले सुरक्षा व्यवस्थाका विषयमा नेपाल प्रहरीसँग समेत छलफल भइसकेको उनले जानकारी दिए ।

“इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्न अन्तर्राष्ट्रिय पर्यटक पनि ठूलो सङ्ख्यामा आउने गरेका छन्। उहाँहरूका लागि आवश्यक व्यवस्थापन गरेका छौँ,” अध्यक्ष शाक्यले भने, “इन्द्रजात्राका लागि आवश्यक तयारी अहिले तीव्र गतिमा अघि बढाइरहेका छौँ।”

विशेषगरी नेवार समुदायमा विशेष सांस्कृतिक तथा धार्मिक महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा परम्परागत रूपमा मनाइन्छ। काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्राका मुख्य विधि सुरु हुने गर्छन्। लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परासमेत रहिआएको छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत इन्द्रजात्राको विशेष महत्त्व रहेको मानिन्छ।

इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। जात्राका क्रममा कुमारी, गणेश र भैरवको रथयात्रा प्रमुख धार्मिक तथा सांस्कृतिक आकर्षणका रूपमा रहने गरेको छ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्।

जात्राको अवधिमा वसन्तपुर तथा काठमाडौंका विभिन्न स्थानमा परम्परागत सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले ठूलो संख्यामा स्थानीय बासिन्दा, भक्तजन तथा पर्यटक सहभागी हुने गर्छन्। यही कारण जात्रा व्यवस्थापन, भीड नियन्त्रण, सुरक्षा तथा पर्यटकका लागि आवश्यक सुविधा व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको समितिले जनाएको छ।

लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताए ।