शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा १८ वटा हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला छन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ ।

यसपटक आरोहण अनुमति लिने आरोहीको सङ्ख्या सबैभन्दा धेरै मनास्लु हिमालको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । मनास्लु आरोहणबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना तथा बरुणत्से हिमाल आरोहणका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन् ।

यस्तै, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

विभागले शरद् ऋतुमा ती हिमाल आरोहणका लागि जारी गरेको अनुमतिबाट १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ आम्दानी गरेको जनाएको छ ।