ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सिटीबीच भगिनी सम्बन्ध स्थापना

ललितपुर — अमेरिकाको कोलोराडो राज्यस्थित ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड सिटीका मेयर ग्यूलिन कास्त्रियोटाले सोमबार भगिनी सम्बन्धको सुरुवातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्रुमफिल्ड सिटी काउन्सिल चेम्बर्समा सम्पन्न हस्ताक्षर कार्यक्रममा कला, संस्कृति, प्रविधि आदान–प्रदान तथा आपसी सहयोग र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित दुवै सिटीका प्रमुखहरूले साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

ब्रुमफिल्ड सिटीकी प्रमुख ग्यूलिन कास्त्रियोटाले ललितपुर महानगरसँग भगिनी सम्बन्ध स्थापित हुन पाएकोमा खुसी व्यक्त गरिन्। “यो हाम्रा लागि खुसीको कुरा हो,” उनले भनिन्, “भगिनी सम्बन्धले ब्रुमफिल्ड र ललितपुरलाई मात्र होइन, नेपाल र अमेरिकालाई समेत जोडेको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध कायम गर्न सहयोग गरेकोमा ब्रुमफिल्ड सिटीप्रति आभार व्यक्त गर्दै ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने ब्रुमफिल्ड तेस्रो अन्तर्राष्ट्रिय सिटी भएको जानकारी दिए । यसअघि ललितपुर महानगरपालिकाले कोरियाको छेयरेन र रुसको युलान उडे सिटीसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।

कार्यक्रममा ब्रुमफिल्ड सिटीका पदाधिकारी, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा ललितपुर महानगरको वस्तुस्थिति झल्किने डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो।

ब्रुमफिल्ड सिटीले यसअघि जापानको यूइडा सिटीसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ। हाल ब्रुमफिल्डले ललितपुरसहित विश्वका दुई सिटीसँग भगिनी सम्बन्ध कायम गरेको छ।

हस्ताक्षर कार्यक्रमपछि दुवै सिटीका मेयरहरूले एक–आपसमा सिटीको झण्डा तथा स्मरणीय उपहारहरू आदान–प्रदान गरेका थिए।