पश्चिम नवलपरासीमा व्यावसायिक आलुखेतीप्रति आकर्षण बढ्दै

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किसानहरू परम्परागत बाली छोडेर व्यावसायिक आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएकाछन् ।

तोरी बालीको तुलनामा आलुखेतीमा उत्पादन र आम्दानी दुवै बढी हुने भएकाले आफू चार वर्षदेखि व्यावसायिक आलुखेतीमा लागेको चौधरीले बताए । उनका अनुसार आलुखेतीका लागि उपयुक्त वातावरण हुनुका साथै बजारको समस्या पनि नरहेको छ। “एक कठ्ठामा करिब ५० किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टलसम्म उत्पादन हुन्छ,” उनले भने, । गत वर्ष मात्रै आलु बिक्रीबाट रु पाँच लाख आम्दानी भएको उनको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादव पनि पाँच वर्षदेखि आलुखेती गर्दै आएका छन् । उनले चार बिघा जग्गामा आलुखेती गर्दै आएको र गत वर्ष डेढ बिघा क्षेत्रबाट उत्पादन भएको आलु बिक्री गरी रु छ लाख ५० हजार आम्दानी गरेको जानकारी दिए ।

उँखुखेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी नदिने समस्या भएपछि यादवले उँखुखेती छोडेर १४ बिघा जग्गामा आलु, केरा र तरबुजा खेती सुरु गरेका हुन् । अन्य बालीको तुलनामा जोखिम कम हुने र परिवारलाई समय दिँदै पनि आम्दानी लिन सकिने भएकाले यी बाली रोजेको उनले बताए । यद्यपि, चालु आर्थिक वर्षमा भारतबाट आयातित केराको खपत बढ्दा स्थानीय उत्पादनले बजार नपाएर घाटा लागेको उनको भनाइ छ ।

त्यसैगरी, पाल्हीनन्दन गाउँपालिका–४ का रामसेवक कुर्मीले पनि तीन वर्षदेखि दश कठ्ठा जमिनमा व्यावसायिक आलुखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी उमाशङ्कर पौडेलका अनुसार रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलुखेतीका लागि माटो र सिँचाइ दुवैका हिसाबले उच्च सम्भावना भएका क्षेत्र हुन् । उहाँले व्यावसायिक आलुखेती प्रवद्र्धनका लागि किसानलाई बाली विशेष आयोजनाअन्तर्गत ५० प्रतिशत अनुदान दिइँदै आएको जानकारी दिए ।

केन्द्रका अनुसार जिल्लामा हाल करिब पाँच हेक्टर क्षेत्रफलमा व्यावसायिक आलुखेती भइरहेको छ । यहाँ उत्पादित आलुले वर्षको अधिकांश समय बजारको करिब ६० प्रतिशत माग धान्ने गरेको भए पनि बाँकी माग पूर्तिका लागि अन्य जिल्लामाथि निर्भर रहनुपर्ने अवस्था रहेको पौडेलले बताए ।