विद्युत् उत्पादनको राजधानी दोलखा

दोलखा, चैत ३० गते । जलविद्युत् उत्पादनका लागि सहज भौगोलिक अवस्था, काम गर्ने वातावरण, पहुँच मार्ग, लगानी सुरक्षण, जिल्लावासीको जलविद्युत्प्रतिको चेतना अभिवृद्धिका कारण समेतले दोलखा जलविद्युत् उत्पादनको राजधानी बन्दै गइरहेको छ ।

जिल्लाभित्र निर्माण सम्पन्न भई उत्पादन सुरु भइसकेका छ वटा जलविद्युत आयोजना तथा निर्माणाधीन करिब एक दर्जनभन्दा बढी आयोजनाका प्रवर्द्धक, लगानीकर्ताहरूको समेतको अनुभव र भनाइहरूबाट पनि दोलखा जलविद्युत् उत्पादनको राजधानीको रूपमा प्रमाणित हुँदै गइरहेको छ । अहिले यहाँ निर्माण सम्पन्न भएका देशकै सबैभन्दा सस्तो र स्वदेशी लगानीमा निर्माणाधीनमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्लगायतका आयोजनाहरूबाट ५३३.५३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

माथिल्लो खानी खोला ४० मेगावाट,खानी खोला ३० मेगावाट,तल्लो खा खोला ११ मेगावाट, घट्टेखोलापाँच, सुरी खोला सात, तिनेखु एक, सिँगटा २५, उपल्लो खिम्ती १ मा १२ मेगावाट र २ मा सात मेगावाट र सानो मिल्ती खोला तीन मेगावाट गरी कुल १४१ मेगावाट यसै आर्थिक वर्षभित्र सम्पन्न हुँदै छन् ।

तामाकोसी–३को ६३० मेगावाट, १०१ मेगावाटको तामाकोसी पाँचौँ,खिम्ती २ मा ४८ मेगावाट, जुमखोला ५६ मेगावाट,तल्लो जुमखोला १६३ मेगावाट, माथिल्लो लप्चे ५६ मेगावाट, रोल्वालिङ ८० मेगावाट, त्यसकै डाइभर्सनबाट २२ मेगावाट, माथिल्लो सुरी सात मेगावाट, सुरी साँघु ३० मेगावाट, मध्यखारे खोला २५ मेगावाट, माथिल्लो घट्टे खोला छ मेगावाट, बिगुखोला १० मेगावाट र चर्नावती खोला छ मेगावाट गरी कुल एक हजार २६० मेगावाट निर्माण प्रक्रियामा रहेका छन् । नेपालमा उत्पादन गर्न सकिने करिब आठ हजार मेगावाट विद्युत्मध्ये करिब दुई हजार मेगावाट बिजुली दोलखामा मात्रै उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

जलस्रोतको दृष्टिकोणले नेपालकै दोस्रो धनी जिल्लाको रूपमा रहेको दोलखाको कुल दुई हजार १९१ वर्ग किलोमिटर क्षेत्रफलमध्ये पानीले ढाकेको क्षेत्र ७०६८ हेक्टर अर्थात् ३ दशमलव ३० प्रतिशत रहेको छ । जिल्लाको मुख्य तामाकोसी नदीका विभिन्न बेसिन तथा सहायक खोलाहरू रोल्वालिङ, सिँगटा, खानी, खारे, दोल्ती, गुमु, गोपी, घ्याङ, अँधेरी, चर्नावती, खिम्ती, मिल्तीखोलालगायतका बेसिनहरू दोलखामा उत्पादन हुने जलविद्युत्का मुख्य स्रोत हुन् । यी खोला, नदीहरूबाट उत्पादन हुने जलविद्युत् आयोजनाहरूमा करिब एक हजार दोलखाबासीले दीर्घकालीन रोजगारी पाउने समेत आङ्कलन गरिएको छ ।

विद्युत् विकास विभागको पछिल्लो तथ्याङ्कअनुसार एक हजार ४२० भन्दा बढी कुल उत्पादन क्षमताका १३ भन्दा बढी आयोजनाहरूले विभिन्न क्षमताको विद्युत् सर्वे अनुमति लिएका छन् । दोलखाका विभिन्न नदीहरूमा रन अफ रिभर तथा जलाशययुक्त आयोजनाका लागि सर्वे लाइसेन्स लिएका छन् । ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रोको डिपीआर समेत नर्वेजीयन कम्पनी स्टेटक्राफ्ट नरकन्सल्टले तयार गरिसकेकोमा सो कम्पनीले आयोजना छोडेपछि अहिले टीवीआई एसएस होल्डीङ कम्पनीले पुनः सर्वेको अनुमति लिएको छ ।

यस्तै दोलखा र रामेछापमा संरचना निर्माण हुने ठोसे–खिम्ति छ सय मेगावाटको जलाशययुक्त आयोजनाको पनि सर्वे अनुमति दिइएको छ । सर्वे अनुमति प्राप्त अन्य प्रस्तावित आयोजनाहरुमा २० मेगावाटको साङ्खोला, १० मेगावाटको घ्वाङखोला, ७ मेगावाटको गुरुम्फि खोला, ६ मेगावाटको झ्याँकु खोला, ६ मेगावाटको तल्लो चर्नावती, ५–५ मेगावाटका स्याँखु खोला, टेबु खोला र घट्टे खोला (श्यामा) र ३ मेगावाटको कोट्खोलालगायतका रहेका छन् ।

विद्युत कम्पनीले स्थानीयलाई सेयर दिने नजिर

जलविद्युत आयोजनामा स्थानीयलाई सेयर लगानीको अवसर दिने नजिर .दोलखाबाटै सुरु भएको हो । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट स्थानीयलाई सेयर लगानीको अवसर दिएको हो । आयोजना प्रभावितले १० प्रतिशत सेयर लगानी गरिसकेका छन् । धितो पत्र ऐन २०६३ को संशोधित ऐन २०७३ मा यसलाई सुनिश्चित गरिएको छ । हाल जलविद्युत आयोजनाहरुले नजिर र संशोधित ऐन अनुसार स्थानीय प्रभावितहरूलाई १० प्रतिशत सेयरको प्रावधानले कानुनी मान्यता प्राप्त गरेको छ ।

जलविद्युत् पर्यटनको सम्भावना बढ्दा

जलविद्युत् पर्यटनको दृष्टिले पनि दोलखा उत्कृष्ट गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । स्वदेश तथा विदेशका जलविद्युत्सँग सम्बन्धित सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा भूगर्भ सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरू तथा जलविद्युत् उत्पादनका क्षेत्रमा चासो राख्नेहरू आयोजनाका संरचनाको अध्ययन गर्न आयोजनास्थलमा आउने गरेको विभिन्न आयोजनाहरूको तथ्याङ्कले देखाएको छ । जलविद्युत् पर्यटनको सम्भावना बढ्दै गइरहेको जिल्लाका पर्यटन व्यवसायीहरूको अनुभव रहेको छ ।

जलाशययुक्त तामाकोसी तेस्रोको निर्माण हुने हो भने यसबाट दोलखाको पर्यटन विकासमा कायापलट हुने दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्र श्रेष्ठको भनाइ रहेको छ । गोरखापत्र दैनिक