सुदुरपश्चिम – केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि कञ्चनपुरका तीनवटा स्थानीय तहले सोमबारदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसोका कारण बालबालिकालाई विद्यालयमा अध्ययन गर्न समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका हुन् ।
स्थानीयका अनुसार चिसोबाट विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढेसँगै विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै पालिकाहरूले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि तीन दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । यस्तै, बेलौरी नगरपालिकाले अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए ।
त्यसैगरी, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुने गरी मङ्गलबार र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण बजार क्षेत्रमा समेत चहलपहल कम भएको स्थानीयले बताएका छन् ।



