मुस्ताङ — नेपाल–चीन सीमामा रहेको उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय उल्लेख्य रूपमा घट्दै गएको छ । तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि व्यापारीहरू ती नाकातर्फ फर्किँदा कोरलानाकाको गतिविधि सुस्त भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिने मालवाहक कन्टेनरको संख्या अत्यन्तै न्यून छ । सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार अहिले भन्सार जाँचपासका लागि आठदेखि दसवटा कन्टेनर मात्र पेन्डिङ अवस्थामा रहेका छन्। ती बाहेक पछिल्ला दिनमा थप कन्टेनर भन्सार कार्यालयसम्म आइपुगेका छैनन् ।
तातोपानी र रसुवागढी नाका बन्द रहेका बेला दैनिक १५ देखि २० वटा कन्टेनरको जाँचपास हुने गरेको भए पनि अहिले त्यो अवस्था लगभग शून्यतर्फ उन्मुख भएको सिंहले जानकारी दिए । गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।
भन्सार तथ्याङ्कअनुसार कोरलानाकाबाट हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यका मालवस्तु आयात भएका छन् भने नेपालबाट १९ करोड रुपैयाँभन्दा बढी मूल्यका हस्तकला तथा स्वदेशी उत्पादन चीन निर्यात गरिएको छ। साथै, यस नाकाबाट दुई हजार १०० भन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। पछिल्लोपटक बिवाइडी कम्पनीका करिब ५०० वटा विद्युतीय कार यही नाकाबाट आयात गरिएको थियो।
कोरलानाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आए पनि दूरी र ढुवानी खर्च महँगो पर्न जाने भएकाले तातोपानी र रसुवागढी खुलेसँगै व्यापारीहरू त्यतैतर्फ आकर्षित भएको भन्सार कार्यालयको ठहर छ । कारोबार घटेपछि कार्यालयका कर्मचारीहरू समेत तुलनात्मक रूपमा फुर्सदिला बनेका छन् ।
यद्यपि, सूचना अधिकारी सिंहले प्रतिकूल मौसम बाहेक अन्य समयमा कोरलानाकाबाट आयात–निर्यात पूर्ण रूपमा बन्द नहुने दाबी गरे । “रसुवागढी र तातोपानी नाका जति चहलपहल नहोला, तर केही व्यापारीका लागि कोरलानाका अझै सहज विकल्प हो,” उनले भने, ।
हाल कोरलानाका क्षेत्रमा व्यापारिक गतिविधि घटेसँगै चहलपहल न्यून देखिएको छ । समुद्री सतहदेखि चार हजार ६१० मिटर उचाइमा अवस्थित यस क्षेत्रमा व्यापार गर्ने व्यापारी, मालवाहक कन्टेनर चलाउने चालक तथा स्थानीय मजदुरहरू जाडो र कामको अभावका कारण बेँसी झर्न थालेका छन् । प्रतिकूल मौसमका बीच पनि केही कर्मचारी भने भन्सार कार्यालयमै बसेर सेवा दिइरहेका छन् ।



