बेनी, – म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ ।
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले मसारटोलस्थित म्याग्दी नदी किनारमा डाइभर्सन गरी ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गर्ने काम थालेको छ। योजना अन्तर्गत १०२ मिटर लामो, ४ मिटर चौडाइ र ३ मिटर अग्लो कङ्क्रिट तथा ग्यावियन पर्खाल निर्माण गरिनेछ ।
यस योजनाको लागत अनुमान रु ३ करोड ६८ लाख ८६ हजार ४८६ रहेको छ भने ठेक्का आरआरसी÷जेमी जेभीसँग रु २ करोड ७१ लाख ८ सय ४४ मा वैशाख १० गते सम्झौता भएको छ । योजना असार २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विसं २०७८ मा आएको बाढीले मसार र तातोपानीका घर तथा विद्यालयमा कटानको जोखिम उत्पन्न गरेको थियो। हाल करिब एक सय घरपरिवारको बसोबास जोखिममा छ।
गत वर्ष र चालु वर्षमा सङ्घीय र प्रदेश सरकारले म्याग्दी नदी किनारका विभिन्न स्थानमा ग्यावियन, पक्की पर्खाल तथा कम्पोजिट संरचना निर्माण गरिसकेको थियो । यस पहलले बस्ती, विद्यालय र पर्यटकीय स्थलको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।



