काठमाडौँ – काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत हालसम्म ५५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । तीन वर्ष नियमित सञ्चालन हुने यो बहुवर्षीय योजनाको कुल लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ रहेको छ भने हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सार्वजनिक निर्माण विभागमार्फत सञ्चालन भइरहेको कार्यक्रममा वडाबाट प्राप्त मागका आधारमा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता अनुसार ढलान र ढल मर्मत गर्ने काम भइरहेको महानगरपालिकाले जनाएको छ । सुरुमा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको कार्यक्रमलाई काठमाडौँलाई चार क्षेत्रमा बाँडेर प्याकेजमार्फत कार्यान्वयन गरिएको हो ।
पूर्वी क्षेत्र (वडा ६, ७, ८, ९, १०, ३१ र ३२)
यस क्षेत्रमा करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । बोलपत्र प्रक्रियाबाट ७९ करोड ५७ लाख रुपैयाँको कार्यादेशमा वल्र्डवाइड–कोहिनूर–रमिता जेभीले कामको जिम्मेवारी पाएको छ । २०८१ असोज १४ गते सम्झौता भएर २०८३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
फोकल पर्सन वरिष्ठ इन्जिनियर सन्दीप ढकालका अनुसार यहाँ अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान भएको छ । सिमलटार, पाटीटार नयाँ बस्ती, बत्तीसपुतली, महादेवस्थान–कोटेश्वर, बालकुमारी–दोभान करिडोर, पेप्सीकोला प्लानिङ, सूर्यकोट र गैरी गाउँका भित्री सडकमा काम सम्पन्न भइसकेको छ ।
पश्चिम क्षेत्र (वडा १३, १४, १५ र १६)
यस क्षेत्रमा ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो भने ६५ करोड ५७ लाख रुपैयाँमा पीआरके एन्ड केजी एन्ड अम्बुजासँग सम्झौता भएको छ । २०८२ वैशाख ४ गते कार्यादेश दिइएको यो काम २०८४ वैशाख मसान्तसम्म सक्ने लक्ष्य छ ।
फोकल पर्सन माधव काफ्लेका अनुसार अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ र करिब ८ किलोमिटर सडक सुधार कार्य जारी छ । बालाजु बाइपासदेखि बालाजु चोक, विष्णुमती करिडोर, कुलेश्वर, सोह्रखुट्टे, चाक्सीबारी, बल्खु लगायत क्षेत्रका सडक सुधार गर्ने योजना छ ।
उत्तर क्षेत्र (वडा १, २, ३, ४, ५, २६, २८, २९ र ३०)
यस क्षेत्रको काम ढुकुछु–आरए जेभीले ७३ करोड रुपैयाँमा गर्ने गरी २०८१ असार ७ गते सम्झौता भएको हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको अवधि २०८३ असार मसान्तसम्म छ ।
यहाँ २३ किलोमिटर सडक कालोपत्रे र ३ किलोमिटर सडक ढलान भइसकेको छ । दरबारमार्ग, नक्साल, हात्तीसार, महाराजगञ्ज, बालुवाटार, विशालनगर, मित्रनगर, अद्वैत मार्ग, घट्टेकुलो र सहिद मार्गलगायत क्षेत्रमा काम सम्पन्न भएको छ ।
मध्य क्षेत्र (वडा ११, १२, १७–२५ र २७)
करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस क्षेत्रको काम अर्याल–युएसजी–आरएस लक्ष्मी जेभीले ३४ करोड ३३ लाख रुपैयाँमा गर्ने सम्झौता गरेको छ । २०८१ जेठ २९ गते सम्झौता भई २०८४ जेठ मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।
यहाँ ४.५ किलोमिटर सडक कालोपत्रे, १.२ किलोमिटर ढलान र १.५ किलोमिटर ढुङ्गा छाप्ने काम सम्पन्न भएको फोकल पर्सन इन्जिनियर समीर अधिकारीले जानकारी दिए । सूर्य मार्ग, कारागार मार्ग, विष्णुमती करिडोर, पचली भैरव क्षेत्र, इखापोखरी र ज्याठा मार्गमा काम भइसकेको छ ।
महानगरपालिकाका अनुसार बाँकी क्षेत्रहरूमा पनि क्रमशः काम तीव्र बनाउँदै लैजाने र सडकलाई धुलोरहित, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।



