मेयर हुँदा कहिल्यै पूरा गर्न नसकिएका कामहरु बालेनका चुनावी एजेण्डा

काठमाडौँ – काठमाडौ महानगरपालिकाका पूर्व मेयर बालेन शाह (बालेन्द) प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेपछि मिडियामा सक्रिय हुँदै आफ्ना विचार र योजनाहरू सार्वजनिक गर्न थालेका छन्। महानगरमा मेयरको पदमा रहँदा उनले धेरै कामहरू गर्न नसकेका थिए, र त्यही अनुभवलाई अब उनी चुनावी अभियानमा आधार बनाउँदै छन्।

बालेन झापा क्षेत्र नं. ५ बाट रास्वपाबाट उम्मेदवारी दिएका छन्। उनी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै प्रतिनिधि सभा सदस्य बन्ने लक्ष्य राखेका छन्।

उनले काठमाडौ महानगरमा करिब तीन वर्ष विताए, तर कार्यकालभर मिडियामा कहिल्यै स्पष्ट प्रतिक्रिया दिएका थिएनन्। २०७८ माघ ४ गते बालेनले उपमेयर सुनिता डङ्गोलसामु राजिनामा बुझाएर पदबाट बाहिरिए। त्यसै दिन उनी रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न जनकपुर पुगे। माघ ५ गते जनकपुरको सभामा उनले भने, “देश बनाउनेलाई बोल्ने फुर्सद हुँदैन, काम गर्नेलाई मिडियामा बोल्न समय हुँदैन।”

अब उनले मेयरको पदमा गर्न नसकेका कामहरूलाई केन्द्रमा राख्दै आफ्नो चुनावी अभियान अघि बढाएका छन्। उनका प्रमुख प्राथमिकतामा भ्रष्टाचार रोकथाम, युवा र बालबालिकाको हित, वास्तविक सुकुम्बासीको अधिकार सुनिश्चित गर्ने र जमिन समस्या समाधान गर्नु रहेका छन्।

उनले विशेषगरी पश्चिमी नेपालमा जमिनको लामो समयदेखि अतिक्रमणमा रहेको समस्या औँल्याउँदै भने, “केही पार्टीका व्यक्तिहरूले लालपुर्जा पाइसके, तर वास्तविक सुकुम्बासीले पाउन सकेका छैनन्। यदि जमिन नजिक, बगान नजिक र आफन्त नजिक हेरेर छुट्याइयो भने समाधान सम्भव छ।”

यस्तै, मानव–वन्यजन्तु द्वन्द्व, आरक्षण क्षेत्रको व्यवस्थापन र जंगल संरक्षणका विषयमा पनि उनी संवेदनशील छन्। बालेनका अनुसार, “संरक्षणमा समुदाय सक्रिय छन्, तर समय र स्रोत पर्याप्त छैन। सरकारले मानिसको पुनःस्थापना गरेर जंगल जोगाउने नीति बनाउनु पर्छ।”

युवाप्रतिको प्रतिबद्धता देखाउँदै उनले भने, “यदि एउटा नम्बर दिनुपरे, त्यो युवाप्रतिको हुनुपर्छ। बालबालिकालाई विद्यालयमा ल्याउन हामी तयार छौँ। भ्रष्टाचार अन्त्य गर्नु मुख्य कुरा हो।”

पूर्व मेयर बालेन शाहको चुनावी अभियानले काठमाडौमा गर्न नसकेका काम र ग्रामीण क्षेत्रका वास्तविक समस्या सँग जोडिएको छ। अब निर्वाचन नजिकिँदै गर्दा उनका यी योजनाहरूले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।