महोत्तरी – गौशाला नगरपालिकामा वडाध्यक्षसअित स्थानीयले तालाबन्दी गरिएका छन् । वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिका पुगेका स्थानीयले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
गत आर्थिक वर्षमा सम्पन्न वडास्तरीय योजनाको भुक्तानी रोक्का गरिएको तथा चालु आर्थिक वर्षको योजना बाँडफाँटमा असमान व्यवहार गरिएको आरोप लगाउँदै तालाबन्दी गरिएको वडाध्यक्ष साहले बताए । उनका अनुसार अन्य सबै वडामा योजना र बजेट विनियोजन गरिएको भए पनि वडा नं. १ लाई योजनाबाट वञ्चित गर्ने नियतले एकमुष्ट बजेट राखिएको छ ।
‘गत वर्ष सम्पन्न योजनाको भुक्तानी अहिलेसम्म रोक्का गरिएको छ । यस वर्ष पनि योजनाको बाँडफाँटमा विभेद गरिएको छ,’ वडाध्यक्ष साहले आक्रोश व्यक्त गर्दै भने, ‘कतिपय विषयमा अनियमितताविरुद्ध आवाज उठाएकै कारण मेयरले हाम्रो सिंगो वडामाथि सौतेनी व्यवहार देखाएका छन् ।’
नगरप्रमुख डा. दीपेन्द्र महतो तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीको कार्यकक्षमा ताला लगाएपछि नगरपालिकाको नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ । मंगलबार सेवा लिन नगरपालिका पुगेका सेवाग्राहीहरू पनि काम नगरी फर्किन बाध्य भएका छन् ।
आफ्नो वडासँग गरिएको व्यवहार नसच्याएसम्म तालाबन्दी नखोल्ने चेतावनी वडाध्यक्ष साहले दिएका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै गौशाला नगरपालिकाका नगरप्रमुख डा. महतोले वडाबाटै व्यापक जनगुनासो आएपछि केही योजनाको भुक्तानी प्रक्रिया रोकिएको स्पष्ट पारे । ‘डिप बोरिङ योजनामा किसानहरूसँग रकम उठाइएको गुनासो आएपछि भुक्तानीमा कडाइ गरिएको हो,’ उनले भने, ‘ती योजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा समेत मुद्दा दर्ता छ ।’
योजना बाँडफाँट नगरसभाको अधिकार क्षेत्रभित्र पर्ने विषय भएकाले त्यसको जवाफ नगरसभाले नै दिने नगरप्रमुख महतोको भनाइ छ । उनले बुधबारबाट नगरपालिकाको नियमित कामकाज अघि बढाइने जानकारी दिए ।



